Logo

विद्युतीय सवारीको उत्पादनमा कसरी चीन विश्वको ‘लिडर’ बन्यो ?

विद्युतीय सवारीको उत्पादनमा कसरी चीन विश्वको ‘लिडर’ बन्यो ?



काठमाडौं । चीनमा हरित ऊर्जामा चल्ने सवारी साधनको बाहुल्यता रहेको र यो वर्ष चीनले १ करोड विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्य पार गरेर इतिहास रचेको छ । चीन सरकारले विद्युतीय सवारी साधनलाई प्रर्वद्धन गर्न अनुदान, करमा छुट र विद्युतीय सवारीका लागि विशेष लेनलगायत विभिन्न नीतिहरू लागू गरेको छ । यी नीतिहरूले उपभोक्ताहरूलाई विद्युतीय सवारीसाधन खरिद गर्न मात्रै नभई उत्पादकहरूलाई पनि ठूलो मात्रामा उत्पादन गर्न उत्प्रेरित गरेको छ ।

चिनियाँ अटोमोबाइल उत्पादक महासंघबाट प्राप्त जानकारी अनुसार यस हप्ता बिहीबार चीनमा नयाँ ऊर्जा सवारी साधन (एनइभी) अर्थात् विद्युतीय सवारी साधनको वार्षिक उत्पादन पहिलोपटक एक करोड नाघेको छ । चीन विश्वको पहिलो देश बनेको छ जसको वार्षिक उत्पादन एक करोड नाघेको छ ।

तथ्यांकअनुसार सन् २०१३ मा चीनले विद्युतीय सवारी साधनको उत्पादन र बिक्रीलाई तथ्यांकीय प्रणालीमा समावेश गरेको थियो । त्यो वर्ष उत्पादन १८ हजार मात्रै थियो । सन् २०१८ सम्ममा चीनमा नयाँ ऊर्जा सवारी साधनको उत्पादन १० लाख र सन् २०२२ सम्ममा ५० लाख पुगेको थियो । यो वर्ष नयाँ ऊर्जाका सवारी साधनको उत्पादन १ करोड २० लाखभन्दा बढी हुने अनुमान छ ।

विगत १० वर्षमा चीन सरकारले विद्युतीय सवारी साधनको विकासका लागि सयभन्दा बढी उदार नीतिहरू लागू गरेको छ । चीनको नयाँ ऊर्जा वाहन व्यवसायको विकासमा प्रमुख उपलब्धिहरू हासिल भएका छन् । भविष्यमा चीनले विश्वको नयाँ ऊर्जा प्रणालीमा योगदान पुर्याउन उत्पादन र बिक्रीका साथै गुणस्तरमा वृद्धि गर्ने बताएको छ ।

चीनमा धेरै ठूला विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीहरू छन्, जसले ठूलो मात्रामा विद्युतीय सवारीसाधन उत्पादन गर्छन् । यी कम्पनीहरूले ब्याट्री प्रविधि, मोटर डिजाइन र चार्जिङ पूर्वाधारमा ठूलो लगानी गरेका छन् । जसका कारण चीनमा विद्युतीय सवारी साधनको मूल्य लगातार घटिरहेको छ र उनीहरुको ब्याट्रीको दायरा र कार्यसम्पादनमा पनि सुधार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्