Logo

तीन महिनामै थपियो १५ अर्ब बढी सेयर कर्जा, ब्याजदर घट्दा बढयो आकर्षण

तीन महिनामै थपियो १५ अर्ब बढी सेयर कर्जा, ब्याजदर घट्दा बढयो आकर्षण



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ३ महिनामै मार्जिन प्रकृति कर्जा १५ अर्ब बढी थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ असार मसान्तसम्म ९० अर्ब ९ करोड रुपैयाँ बराबर प्रवाह भएको यस्तो कर्जा चालु आवको असोज मसान्तसम्म आईपुग्दा १ खर्ब ५ अर्ब माथि पुगेको हो ।

केन्द्रिय बैंकका अनुसार पछिल्लो ३ महिनामा मात्रै यस्तो कर्जा १५ अर्ब ७३ करोड १६ लाख रुपैयाँले थपिएको हो । यो गत आर्थिक बर्षको पहिलो ३ महिनामा थपिएको कर्जाको तुलनामा १७ प्रतिशतले बढी हो । गत आवको यहि अवधिमा यस्तो कर्जा ४ अर्ब ७० करोड रुपैयाँ मात्रै थपिएको थियो ।

खासगरी पछिल्लो समय बैंक वित्तीय संस्थाहरुमा निक्षेप थुप्रिने र लगानीमा संकुचन आउनाले ब्याजदर लगातार घटिरहेको छ । जसका कारण बैंकहरुले सेयर धितो कर्जामा बढी नै जोड दिन थालेको तथ्यांकले देखाउँछ । चालु पछिल्लो ३ महिनामा १ करोड माथिको सेयर धितो कर्जा १४ अर्ब ३ करोड रुपैयाँ प्रवाह भएको छ भने ५० लाख देखि १ करोडसम्मको १ अर्ब १६ करोड रुपैयाँ प्रवाह भएको देखिन्छ ।

यस्तै २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको ४४ कराड ६९ लाख र २५ लाखसम्मको ७ करोड ९३ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस अवधिमा गत आवको सोही अवधिको तुलनामा १ करोड माथिको सेयर धितो कर्जा प्रवाह २५ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्