Logo

चौधरी समुहले भित्र्याएका दुई इभी ब्राण्डको उत्पादन नै बन्द, अन्य पनि समस्यामा, मारमा नेपाली उपभोक्ता

चौधरी समुहले भित्र्याएका दुई इभी ब्राण्डको उत्पादन नै बन्द, अन्य पनि समस्यामा, मारमा नेपाली उपभोक्ता

सिजिले भित्र्याएका अन्य चिनियाँ इभी ब्राण्डप्रति पनि शंका पैदा भएको छ



काठमाडौं । चौधरी समुहले नेपालमा भित्र्याएका इलेक्ट्रिक गाडी उत्पादक कम्पनीहरु नै बन्द भएका छन् । चौधरी समुहले पछिल्लो समय ब्यापक रुपमा चिनियाँ इभीलाई नेपाली बजारमा भित्र्याउँदै आएकोमा अहिले ती उत्पादक कम्पनीहरुले त्यस्ता गाडि उत्पादन नै बन्द गर्न थालेका हुन् भने कतिपय कम्पनी नै बन्द भएका समाचारहरु बाहिर आएका छन् ।

चौधरीले महत्वाकाँक्षी रुपमा भित्र्याएको नेटा ईभीको अहिले उत्पादन नै बन्द हुन पुगेको छ । चौधरी समुहले नेपाली बजारमा बढी मात्रामा विक्री गरेको नेटा इभीको चिनियाँ उत्पादन कम्पनीले उक्त गाडीको उत्पादन नै बन्द गरेको हो । केही समय अघि मात्रै चीनको झेजियाङ्गमा रहेको नेटा ईभी ब्राण्डको मुख्य उत्पादन कारखानाले अक्टोबर महिना देखि आफ्नो उत्पादन बन्द गरेको जनाएको थियो । सन् २०१८ मा होजन अटोले स्थापित गरेको यो ब्राण्ड हाल चीनमा आफ्नै उत्पादन समस्याका कारण संकटमा परेको हो । कम्पनीले झेजियाङ्गमा रहेको टङ्सियाङ्ग कारखानामा उत्पादन कार्यलाई बन्द गरेको छ भने कर्मचारीहरूको तलबसमेत कटौती गरेको छ । यसले उत्पादनमा भारी असर परिरहेको छ भने कम्पनीले कर्मचारीहरूलाई समयमै तलबसमेत दिन सकेको छैन ।

यसैगरी चौधरी समूहले नेपाल ल्याएको अर्को इभी ब्राण्ड डायुन पनि टाट पल्टिएको छ । उक्त कम्पनीले नियमित रुपमा सञ्चालनमा नै समस्या आएपछि हाल उक्त कम्पनी नै ‘ब्यांकरप्ट’ (टाट पल्टिएको) भएको घोषणा गरेको हो । चौधरी समुह अन्तरगतको सिजि मोटर्सले गत भदौमा डायुनका उत्पादन नेपाली बजारमा भित्र्याएको थियो । चिनियाँ संस्था नेसनल इन्टरप्राइज ब्यांकरप्सी एन्ड अर्गनाइजेसन केस इन्फमेसन नेटवर्कले डायुन अटोमोबाइल कम्पनी लिमिटेड, हुबेइ डायुन अटोमोबाइल र छेन्दु डागुन अटोमोबाइल ग्रुप कम्पनीले ब्यांकरप्सीको आवेदन दिएको सार्वजनिक गरेको हो । यससँगै चौधरी समुहले नेपाली बजारमा भित्र्याएका इभी गाडी खरिद गर्ने उपभोक्ताहरु मारमा पर्ने भएका हुन् । साथै ती कम्पनीहरुलाई जियाङसु काइसुन्डा हाइस्पीड रेल्वे ट्रान्समिसन टेक्नोलोजी डेभलपमेन्ट कम्पनी लिमिटेडले ब्यांकरप्सी फाइल गरेको हो । उक्त कम्पनी २०१६ को मे महिनामा स्थापना भएको थियो ।

पछिल्लो समय चौधरी समुहले नेपाली बजारमा इभीका स्थापित ब्राण्डभन्दा चिनियाँ स्टार्टअप कम्पनीमार्फत आफु अनुकुलका गाडी बनाएर ल्याउने गरेको र त्यस्ता कम्पनीहरु समस्यामा पर्दा उत्पादन नै बन्द हुन थालेपछि नेपाली उपभोक्ताहरु सबैभन्दा बढी मारमा पर्न थालेका हुन्।

विशेषगरी पछिल्लो समय चौधरी समुहले भित्र्याएका इभी गाडिहरु चीन बाहेक नेपाली बजारमा मात्रै बिक्री हुने गरको र त्यस्ता ब्राण्डहरु कुनै पनि समयमा बन्द हुन सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । चौधरी समुहले अहिले नेपाली बजारमा कुनै पनि स्थापित वा मल्टिनेशनल ब्राण्डका इभी गाडीहरु भित्र्याएको देखिँदैन भने त्यसले गुणस्तरमा समेत प्रश्न खडा गरेको छ । साथै उक्त समुहले इभी बजारमा आफुलाई जबर्जस्ती उपस्थिती देखाउन आफ्नो स्वार्थ अनुकुल चिनियाँ स्टार्टअप कम्पनीमार्फत विभिन्न ब्राण्डका नाम राखेर इभी गाडिहरु भित्र्याउने गरेको पाइएको छ । चिनियाँ उत्पादन नेटा भी पनि चीन बाहेक नेपाल र बंगलादेशमा उक्त समुहले नै बिक्री गर्दै आएको थियो ।

हाल चौधरी समुहले भ्यान तथा माइक्रोबस र प्यासेन्जर कार गरी एक दर्जन चिनियाँ ब्रान्डका इभी नेपाली बजारमा बिक्री गर्दै आएको छ । तर ती सबै सस्ता ब्राण्डहरु स्टार्टअपका रुपमा उत्पादन भएको र त्यसको भविष्य के हुने भन्ने विषयमा अन्यौलता रहेको देखिन्छ ।

पछिल्लो समय नेपाली आयातकर्ताहरुले हचुवाको भरमा आफु अनुकुलका इभी गाडीहरु आयात गरेर बिक्री गर्दा नेपाली उपभोक्ताहरु मारमा परेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘पहिलो कुरो त विश्व बजारमै इभीको भविश्य के हुने भन्नेमा अन्यौलत रहेको छ,’ इभी सम्बन्धी एक जानकारले भने, ‘अझै नेपालमा त कुनै चेकजाँच विनै आयात कर्तालाई उनीहरुको स्वार्थ अनुकुलका गाडिहरु खुलेआम बिक्री गर्न दिइएको छ, यसले उपभोक्तालाई समस्यामा पार्नुका साथै नेपाललाई इभी गाडिको डम्पिङ साईट बनाउने जोखिम उच्च छ ।’

प्रतिक्रिया दिनुहोस्