Logo

राष्ट्र बैंकले माग अनुसार कोटा नबढाउँदा बजारमा सुन अभाव

राष्ट्र बैंकले माग अनुसार कोटा नबढाउँदा बजारमा सुन अभाव


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिवाहको सिजन चलिरहँदा बजारमा सुन अभाव देखिएको छ । सुनको माग बढ्दै गर्दा उपभोक्ताले भने चाहेजति सुन किन्न नपाउने अवस्था आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणीरत्न शाक्यले जानकारी दिए ।

राष्ट्र बैंकले सुनको वितरणमा वृद्धि नगर्दा बजारमा अभाव भएको उनले बताए । ‘राष्ट्र बैंकले १५ किलो मात्र सुन वितरण गरेको छ,’ उनले भने ‘ ‘हाल बजारमा दैनिक ३५ केजी सुनको माग छ ।’

व्यापारीहरुले पहिला नै यसबारे सचेत गराएपनि सम्वन्धित निकायले ध्यान नदिँदा ग्राहकहरु बजारमा आएर सुन नकिनी फर्किनुपर्ने अवस्था आएको शाक्यले गुनासो गरे । अघिल्ला बर्षहरुमा यो सिजनमा राष्ट्र बैंकले २५ देखि ३० केजिसम्म सुन विक्री गरेपनि यो बर्ष भने बढाएको छैन ।

यस्तै नेपाली बजारमा सुनको माग बढीरहदा अन्तरराष्ट्रिय बजारमा भने भाउ घटेको छ । बुधवार स्थनीय बजारमा सुनको भाउ तोलाको ५३ हजार ३ सयमा झरेको छ । यो गत ६ महिनायताकै सस्तो हो । विवाहको सिजन र सुनको भाउ घट्नुमा भने कुनै सम्वन्ध नरहेको व्यवसायीहरु बताउँछन् । सुनको भाउ अन्तरराष्ट्रिय बजार तथा लगानीकर्तामा भर पर्ने बताइएको छ ।

किन घट्यो सुनको भाउ

ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि सुनको भाउमा गिरावट आएको छ । अमेरिकाका लगानीकर्ताहरु अन्य क्षेत्रमा लगानी गर्न थालेपछि सुनको भाउ घटेको हो ।
त्यसैगरी डलरको भाउ बढ्दा पनि त्यसको प्रभाव सुनको मूल्यमा परेको देखिन्छ । त्यस्तै भारतमा ५ सय र १ हजारको नोट प्रतिबन्द गर्दा सुनको बजार खस्किएकोले भाउ घटेको सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्