Logo

फेरि रोकियो सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया, अर्काे सूचना जारी गर्दै अर्थ मन्त्रालय

फेरि रोकियो सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया, अर्काे सूचना जारी गर्दै अर्थ मन्त्रालय



काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष चयन गर्नका लागि गर्न लिएको अन्तरवार्ता पुन: रोकिएको छ । यसअघि बोर्डको अध्यक्ष हुनका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेका ३ जनालाई आज अन्तरवार्तामा बोलाईएको थियो । छनोट समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी सिंहदरबारमा उपस्थित नभएपछि अन्तरवार्ता नै रोकिएको हो ।

यसअघि गत असारमा अध्यक्ष चयन गर्न गठित समितिले सर्टलिस्टमा परेका ५ जनामध्ये २ जना मात्रै अन्तरवार्तामा उपस्थित भएको र सिफारिस गर्न ३ जना आवश्यक भएकाले उक्त प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो ।

समितिको उक्त निर्णयविरुद्ध सर्टलिस्टमा परेर अन्तरवार्ताका लागि पनि उपस्थित भईसकेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वाैच्च अदालतले अध्यक्ष छनोटको प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई असार २ गतेका लागि लागि अन्तर्वार्ता र प्रस्तुतिकरणमा बोलाएपनि २ जना मात्रै उपस्थित भएका थिए । बाँकी रहेका ३ जनालाई पुनः अन्तरवार्ताका लागि असार ५ गते बोलाईएपनि उनिहरुले सोही दिन पनि अन्तरवार्ता र प्रस्तुतिकरण बहिस्कार गरेका थिए । यसरी दुबै पटकको अन्तरवार्तामा ३ जना नै अनुपस्थित भएपछि समितिले मन्त्रिपरिषदलाई ३ जनाको नाम सिफारिस नै गर्न पाएको थिएन । धितोपत्र सम्बधि ऐनमा छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, ५ जनामध्ये दुई जना मात्रै अन्तरवार्तामा उपस्थित भएपछि समितिले महान्याधिवक्ताको कार्यालयसँग सुझाव माग गरेको थियो । तर, कार्यालयले पनि २ जनाको नाम मात्रै सिफारिस गर्न नहुने सुझाव दिएपछि उक्त प्रक्रिया नै रद्द गरेको थियो ।

बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । जसमध्ये अन्तिम ५ जनामा सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल बीमा समिति (हाल बीमा प्राधिकरण)का पूर्व अध्यक्ष चिरञ्जीवी चापागाँई र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीको नाम छनोट भएको थियो । यीनै ५ जनाबाट छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने थियो ।

जसमध्येबाट १ जना बोर्ड अध्यक्षमा नियुक्त हुने प्रावधान थियो । तर, छनोट समितिले बोलाएको प्रस्तुतीकरणमै ३ जना उपस्थित नभएपछि बोर्डको अध्यक्ष छनोट प्रक्रिया नै स्थगित भएका थियो । तर, पुनः पुरानै प्रक्रियाबाट अन्तरवार्ता लिएर अध्यक्ष चयन प्रक्रिया अघि बढाउन खोज्दा नयाँ प्रक्रियासमेत हाललाई स्थगित भएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार आज अन्तरवार्ता लिनका लागि संयोजक शिवराज श्रेष्ठ बिरामी भएका कारण उपस्थित हुन सकेका थिएनन् । अब मन्त्रालयले यसका बारेमा नयाँ सूचना जारी गर्न लागेको स्राेतले जानकारी दिएकाे छ । अन्तरवार्तामा सर्टलिस्टमा परेका २ उम्मेदवारहरु उपस्थित भएपनि एकजना उम्मेदवार चिरञ्जिवी चापागाईँ भने आज उपस्थित भएनन् ।


गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमाल कार्यकालका कारण बाहिरिएसँगै हालसम्म उक्त पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्