Logo

बजारबाट ठूला लगानीकर्ता बाहिरिए, नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो

बजारबाट ठूला लगानीकर्ता बाहिरिए, नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय ५ सय र १ हजार रुपैयाँका नोट प्रतिबन्द हुँदा अघिल्लो हप्तादेखि केही ठूला लगानीकर्ता सस्तोमा सेयर बेचेर बाहिरिन थालेका छन् । यसले गर्दा अहिले दैनिक रुपमा कारोवार र नेप्से परिसुचक दुवै ओरालो लागिरहेको छ ।

त्यस्तै केही ठूला लगानीकर्ता भने सेयर मूल्य घटाएर साना लगानीकर्तालाई हतास बनाएर सस्तो मूल्यमा उठाउने दाउमा बसेका छन् । यसको नकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।

यो साता पनि सेयर बजारमा लगानीकर्ताको चलखेल देखिएको छ । सोमवार २० अंकले घटेको सेयर बजार मंगलवार पनि ओरालो लागेको छ । आज नेप्से परिसुचक २३ दशमलव ८२ अंकले ओरालो लागेर १ हजार ५ सय ८२ दशमलव ४७ अंकमा झरी बजार बन्द भएको छ ।

मंगलवार कारोवारमा आएका सवै समुह ओरालो लागेकोले सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय २४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल ६६ दशमलव ३५, जलविद्युत ३३ दशमलव २५, र विकास बैंक२४ दशमलव ६३ अंकले घटेको छ । त्यस्तै सेयर बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह २२ दशमलव ३५ अंकले ओरालो लागेको छ । सो दिन फाइनान्स र अन्य समुह क्रमशः १३ दशमलव ७८ र ९ दशमलव ८४ अंकले घटेको छ ।

आइतवार १ अर्व २४ करोडको कारोवार भएकोमा सोमबार ९२ करोडको कारोवार झरेको थियो । आज ८२ करोडमा कारोवार खुम्चिएको छ । यसरी मंगलवार कारोवार रकममा ३० प्रतिशत भन्दा बढी गिरावट आएको हो । सो दिन १ सय ३१ कम्पनीको १२ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्