Logo

लगानीकर्ता पेनिक बन्दै गएपछि सबै टीमसहित नेप्से पुगे अर्थमन्त्री, भने-बजार किन यति धेरै घट्यो जवाफ चाहियो ?

लगानीकर्ता पेनिक बन्दै गएपछि सबै टीमसहित नेप्से पुगे अर्थमन्त्री, भने-बजार किन यति धेरै घट्यो जवाफ चाहियो ?



काठमाडौं । पछिल्लो समय नेप्से परिसुचक लगातार ओरालो लागेपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेल नै यसको कारण खोज्न आफै नेप्सेको कार्यालयमा पुगेका छन् । बुधबार अर्थमन्त्री पौडेल, राजस्व सचिव, धितोपत्र बोर्डका अध्यक्ष, अर्थ मन्त्रालयअन्तर्गत सम्बन्धित विभागका सहसचिवलगायतको टोलीसहित नेप्सेको कार्यालयमा पुगेका हुन् ।

उनले पछिल्लो समय बजार दैनिक घट्नुको कारणबारे प्रश्न गरेका थिए । ‘एकपटक ३० अर्ब बराबर कारोबार भएको सेयर बजार हाल घटेर ५ देखि ६ अर्वमा किन सीमित भयो,’ उनले प्रश्न गरे, ‘३०४० को विन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा झर्यो यसको जवाफ मलाई चाहियो ।’

उनले कारोवार प्रणालीमा विश्वासनीयता कायम गर्न गर्नुपर्ने कदमका बारेमा पनि जवाफ मागेका थिए । नेप्सेको टीएमएस प्रणालीमा समस्या आउनुको कारणबारे पनि उनले प्रश्न राखेका छन् ।

उनले अहिलेको प्रणालीमा सेयर कारोबारको गोपनीयता आवश्यक रहेको बताउँदै सामाजिक संजाल प्रयोग गरी इन्साइडर ट्रेडिङ र जालझेल भएको कुरा पत्ता लगाएर कारबाही गर्न निर्देशनसमेत दिएका छन् ।

कोही कसैले अवान्छित तरिकाले पुँजी बजारलाई प्रतिकुल प्रभाव पार्ने काम गरिरहेको अवस्था र त्यस्ता क्रियाकलापलाई जानकारीमा लिएर कारवाही गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘यो सरकार बनेपछि पुँजीबजारका लगानीकर्ताले सरकारलाई विश्वास गरेका छन, उनले भने, ‘त्यो विश्वास टिकाउन सरकारले पुँजीबजारको सुधारका लागि सबै प्रयत्न गर्नेछ ।’

साथै लगानीकर्ताले पनि कसैको प्रभावमा नभई कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्न उनले आग्रह गरेका छन् । उनले लगानीकर्ता पेनिक बन्नुको कारण र यसको समाधानका उपाय अपनाउनका लागिसमेत नेप्सेलाई निर्देशन दिएका छन् ।

‘सकेसम्म लगानीकर्तालाई पेनिक सिचुएसनका लिनु हुँदैन भन्ने सरकारको लक्ष्य हो,’ उनले भने, ‘तर, लगातार लगानीकर्ताहरु पेनिक बन्दै गएपछि यसले बजारमा जालझेल गर्नेहरु बढेकी भन्ने आशंका पैदा गर्छ त्यसलाई नियन्त्रण गर्नैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL