Logo

कहिलेदेखि खुल्छ यसपाली दशैंको अग्रिम टिकट बुकिङ ? व्यवसायी भन्छन् सरकारसँग छलफल भएको छैन

कहिलेदेखि खुल्छ यसपाली दशैंको अग्रिम टिकट बुकिङ ? व्यवसायी भन्छन् सरकारसँग छलफल भएको छैन



काठमाडौं । यो बर्षको दशैंका लागि आफ्नो गन्तब्यमा जाने यात्रुका लागि दशैंको अग्रिम टिकट बुकिङ कहिले देखि खुल्ला ? यो सबैको जिज्ञासाको बिषय हो ।

यसपल्टको दशैं असोज २६ गते परेको छ । दिनमात्रै गन्दा पनि अबको करिव १ महिनापछि दशैं आउँदैछ । तर, देशभरका सडकहरुमा निम्तिएको बाढी पहिरोको वितण्डा र ठेकेदारले बर्षाैंसम्म सडक नबनाईदिँदा बढेको अन्यौलताले यात्रुहरुलाई चिन्तित तुल्याएको छ ।

मौसमविदहरुले पनि असोज मध्येसम्म नै नेपालमा भारी बर्षाको सम्भावना रहेको भन्दै पूर्वानुमान सार्वजनिक गरिसकेका छन् । अझ पछिल्ला केहि दिनदेखि बर्षाकै कारण पहिरो आउँदा देशभरका सडकहरु अवरुद्ध हुने क्रम जारी छ । यस्तै अवस्था रहीरहेको अवस्थामा भने दशैंमा काठमाडौं छाडेर बाहिरिने यात्रुहरुलाई भने सास्ती हुने निश्चित छ । तर, अघिल्ला बर्षहरुमा दशैँको घटस्थापनाको १ महिना अघि नै खुल्ने अग्रिम टिकट बृुकिङको प्रक्रिया यसबर्ष अभैसम्म सुरु भएको छैन ।

खासगरी हरेक बर्षजसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागका अधिकारीबीच बैठक बसी सोही अनुसार छलफल गरेर निष्कर्श निकाल्ने गरिन्थ्यो । तर, यसपल्ट भने अहिलेसम्म पनि सम्बन्धित सरोकारवाला निकायहरुले आफुलाई छलफलमा नबोलाएको यातायात व्यवसायीहरु बताउँछन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला हालसम्म पनि भौतिक मन्त्रालय, यातायात व्यवस्था विभागलगायतले आफुहरुलाई दशैंको अग्रिम टिकट बुकिङको बिषयमा छलफलमा नबोलाएको बताए । ‘हामी पनि सरकारले बोलाउनेछ भन्दै पर्खाइमा छौं,’ उनले भने, ‘अब सरकारले छलफलमा बोलाएपछि मात्रै हाम्रा पनि केहि कुराहरु राख्नेछौं त्यसपछि अग्रिम टिकट बुकिङको छलफल हुनेछ ।’

उनले यसपल्ट सडकको दूरावस्थाका कारण यात्रुहरुले सास्ती भोग्नुपर्ने निश्चित भएकाले सरकारले सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । ‘यसपल्ट सडकको दूरावस्थाका कारण यात्रुहरुले दुख पाउने निश्चित छ,’ उनले भने, ‘त्यसैले यसपल्ट सरकारले अग्रिम टिकट बुकिङ खुलाउनुपूर्व सडक सुरक्षाको प्रतिवद्धता दिनुपर्छ ।’

हरेक बर्षजसा दशैं मनाउनकै लागि नेपालभरका १० देखि १५ लाख यात्रुहरु काठमाडौंबाट बाहिरिने गर्दछन् । यसपल्ट पनि सोही मात्रामा यात्रुहरु बाहिरिने अनुमान गरिएपनि सडकले समस्या दिने अनुमान गरिएको छ ।

खासगरी गृह मन्त्रालयले सडक यात्राका क्रममा हुने दूर्घटना न्युनीकरण, पाकेटमार, यात्रु हराउनेलगायतका समस्याको समाधानका लागि पहिल्यै सोही अनुसारको काम गर्ने गरेको छ । जसका लागि दशैंकै लागि भन्दै ट्राफिक प्रहरी कार्यालयहरुले पनि विभिन्न स्थानमा सहजीकरण स्टलहरु राख्ने गरेका छन् । तर, यसपल्ट अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने, कसरी खुलाउने, भाडादर नयाँ तोक्ने या नतोक्नेलगायतका बिषयहरुमा भरपुर छलफल अझै हुन सकेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL