Logo

नाडा अटो शोको वास्तविकता : ५ हजारमै करोडको गाडी, एकै व्यक्तिले गरे ५ ओटासम्म बुकिङ

नाडा अटो शोको वास्तविकता : ५ हजारमै करोडको गाडी, एकै व्यक्तिले गरे ५ ओटासम्म बुकिङ



काठमाडौं । गत हप्ताको मंगलबारदेखि यो हप्ताको आईतबारसम्म अर्थात ६ दिनसम्म चलेको नाडा अटो शोमा अटो व्यवसायीहरुले ४ हजार बढी गाडी बुकिङ भएको दावी गरेकाछन् । तर, ज्यादै न्यून मूल्यमै बुकिङ गर्न पाईने र कतिपय गाडी बुकिङ गरेको पैसा समेत पछि गाडी बुकिङ नगरेको अवस्थामा फिर्ता पाईने भएकै कारण धेरैजसोले एकभन्दा बढी गाडीहरु बुकिङ गरेको पाईएको छ ।

व्यवसायीहरुले ६ दिनमै उच्च संख्यामा गाडीहरु बुकिङ भएको भन्दै खुसी मनाएपनि गाडी बुकिङ गर्नेहरुले भने छल गरेको पाईएको हो । नाडा अटो शो मै स्टल थापेर बसेका एक व्यवसायीले एकै व्यक्तिले ५ ओटासम्म गाडी बुक गरेको जानकारी दिए । यसपटकको नाडा अटो शोमा ५ हजार रुपैयाँमै गाडीको अग्रिम बुकिङ गर्न सकिने सुविधा राखिएको थियो । त्यसमाथि कतिपय कम्पनीहरुले त विशेष शर्तमा अग्रिम बुकिङ गर्दा दिईएको रकम पनि फिर्ता हुने भएपछि धेरैजसो अवलोकनकर्ताहरुले एकभन्दा बढी कम्पनीका गाडीहरु एकैपटक बुक गरेको जानकारी आफुले पाएको उनी बताउँछन् ।

नाडा अटो शो अवलोकन गर्ने क्रममा आफुले ४ ओटा ब्राण्डका गाडीहरु बुक गरेको एक कम्पनीका उच्च तहका कर्मचारीले जानकारी दिए । ‘अटो व्यवसायीले राखेका आकर्षक अफरहरु तथा कम मुल्यमै बुक गर्न पाइने भएपछि मैले ४ ओटा ब्राण्डका गाडीहरु बुक गरेको थिएँ,’ उनले भने, ‘बुकिङ मात्रै गर्दा किन्नैपर्छ भन्ने पनि त छैन नी, त्यसमाथि बुक गर्दा दिईएको धरौटी रकम समेत फिर्ता गर्ने सर्तमा बुकिङ गरेको छु ।’ साथै उनले नाडा अटो शोमा अवलोकन गर्ने क्रममा वीवाईडीको अटो थ्री, सी १०, डिप्पल, स्काईवेल र नामी गरी ५ वटा गाडि बुक गरेको बताए ।

यस्तै गरी एक इन्स्योरेन्स कम्पनीका सीईओले पनि ३ ओटा ब्राण्डकका गाडीहरु शो अवधिभरमा बुकिङ गरेको बताए । उनले पनि सी १०, डिप्पल र स्काईवेलको गाडि बुक गरेको जानकारी दिए । तर अहिले आफुले पेट्रोल गाडि चढिरहेको र अबका दिनमा इभी चढ्ने कि पेट्रोल गाडिलाई नै निरन्तर दिने भन्ने विषयमा दोधार रहेको बताए । ‘अटो शोमा १ करोड रुपैयाँ पर्ने गाडि ५ हजार रुपैयाँमा बुक गर्न पाईने रहेछ त्यो पनि गाडि खरिद नगरेको अवस्थामा पैसा फिर्ता हुने सर्तमा,’ उनले भने, ‘त्यसैले ३÷४ वटा ब्राण्डका गाडिहरु बुकिङ गरेको छु ।’ खासगरी नाडा अटो शोमा कसका गाडीहरु बढि बुकिङ हुने भन्ने प्रतिश्पर्धा नै चलेको थियो । जसका कारण ब्राण्डहरुले गाडी बुक गर्नका लागि न्युनतम रकम राखेका थिए । यसैको फाईदा उठाउँदै धेरै अवलोकनकर्ताहरुले आफ्नो शोखको लागि मात्रै भएपनि एकभन्दा बढी अझ ५ ओटा सम्म गाडी पनि बुक गरेको पाईएको छ ।

नाडा अवधिभर एमएडब्लुले मात्रै विभिन्न ब्राण्डका १ हजार बढी गाडीहरु बुक भएको घोषणा गरेको छ । यसै गरी उक्त अवधिभर स्काइवेलले १ सय २६, बीवाइडीले साढे ७ सय बढी, टाटाले साढे ६ सय र अन्यले पनि सोही अनुसार बुकिङ भएको जानकारी दिएका छन् । तर, कम्पनीहरुले आफ्नो ब्राण्ड भ्यालु बढाउन र डिलरसिप जोगाईराख्न उच्च संख्यामा बुकिङ भएको घोषणा गरेपनि सोही अनुसारको विक्री भने नहुने प्रमाणित भएको छ ।

अहिलेको नाडा अटो शोमा धेरै नयाँ ब्रोण्डका गाडिहरु राखिएको र उक्त सो अवधिमा खरिद गर्दा आकर्षक छुट अफर राखिएकाले अबलोकनकर्ताहरुले पछि छानेर खरिद गर्नका लागि धेरै कम्पनीका गाडिहरु बुकिङ गरेका छन् । ‘कतिपय कम्पनीका गाडिहरु नाडा अटो शोमा मात्रै आईपुगेका थिए भने सो विषयमा विस्तृत जानकारी राख्न पाईएको थिएन,’ गाडि बुकिङ गरेका एक व्यवसायीले भने, ‘पछि विस्तृत अध्ययन गरेर खरिद गर्ने भन्ने सोचले अटो शोको अफर नछुटोस भनेर ५÷५ हजार धरौटी राखेर ३-४ वटा ब्राण्डका गाडिहरु बुकिङ गरेको छु ।’

अहिलेको नाडा अटो शोमा धेरैवटा ब्राण्डका चाईनिज इलेक्ट्रिक गाडिहरु राखिएकाले अवलोकनकर्ताले कुन गाडि कस्तो भन्ने बुझ्न नसकेकाले पनि अबलोकनको क्रममा धेरै कम्पनीका गाडिहरु बुकिङ गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यता नाडा अटो शोका संयोजकसमेत रहेका नाडाका कार्यसमिति सदस्य अनुपकुमार बराल भने कुन कम्पनीको कति गाडी बुक भयो भन्ने बिषयमा केहि भन्न नसकिने बताउँछन् । ‘नाडाले स्टलका लागि ठाउँ दिएर स्टलको सुरक्षा र सम्पूर्ण व्यवस्थापनको मात्रै जिम्मा लिएको हो,’ उनले भने, ‘कुन कम्पनीको गाडी बढी बुक भए र उक्त बुकिङ वास्तविक हो/होइन हेर्ने कुरा हाम्रो दायरामा थिएन ।’

टाटा डट इभिद्वारा प्रायोजित नाडा अटो शो २०२४ गएको आईतबार सम्पन्न भएको हो । १६ औं संस्करणको उक्त नाडा अटो शो २०२४ मा ८२ हजार ४७० दर्शकहरुले अबलोकन गरेको नाडाले जानकारी दिएको छ । निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तरराष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न भएको नाडाले जानकारी दिएको नाडाको भनाई छ ।

थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको नाडा बताउँछ ।

नाडा अटो शोमा गाडि बुकिङ भएको तथ्यांकलाई आधार मानेर नेपाल राष्ट्र बैंकका उच्च अधिकारी देखि मन्त्रीसम्मले देशको अर्थतन्त्र चलायमान भएको संज्ञा दिएका थिए । तर वास्तविकतामा हेर्दा यसअघि पनि अटो शोमा १० हजार रुपैयाँ तिरेर गाडि बुकिङ गर्ने तर पछि खरिद नगर्नेको संख्या उच्च रहेको सम्बन्धित कम्पनीहरुले बताउँदै आएका छन् । यसपटक ५ हजार रुपैयाँमै गाडि बुकिङ गर्न पाईने र एउटै व्यक्तिले ५ वटासम्म गाडि बुकिङ गरेका कारण त्यसैलाई आधार बनाएर गाडि बिक्री भयो भन्न नमिल्ने सम्बद्ध अटो व्यवसायीहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL