Logo

नाडा अटो शो २०२४ : बीवाइडीको बुकिङमा उत्साह, ५ दिनमा साढे ४ सय गाडी बुकिङ

नाडा अटो शो २०२४ : बीवाइडीको बुकिङमा उत्साह, ५ दिनमा साढे ४ सय गाडी बुकिङ



काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२४’ मा चिनियाँ कम्पनी बीवाडीका गाडीहरुको माग उच्च रहेको पाईएको छ । नेपालमा बीवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंकले दिएको जानकारी अनुसार शनिबार बेलुकासम्म अटो शोमार्फत कम्पनीका ४ सय ५० बढी गाडीहरु बुक भईसकेका छन् ।

कम्पनीले नाडा अटो शोलाई लक्षित गरी बीवाइडीको एट्टोका दुई भेरियन्ट, डल्फिन र सि लायन गरी ४ गाडीहरु प्रदर्शनीमा राखेको थियो । यीमध्ये सीलायन भने कम्पनीले विक्रीका लागि भन्दापनि प्रदर्शनीका लागि मात्रै राखेको थियो । हाल अटो शोमा उक्त गाडी प्रदर्शनीबाट भने हटाईसकिएको छ ।

तर, हालसम्म प्रदर्शनीमा रहेका एट्टो ३ को एडभान्स भर्सन र सुपेरियर तथा डल्फिनको भने बुकिङ उच्च रहेको साइमेक्स इंकका प्रमुख बजार अधिकृत समिर श्रेष्ठ बताउँछन् । ‘हामीले शनिबार बेलुकासम्म एट्टोका दुबै भेरियन्ट र डल्फिनका गाडीहरुको करिव ४ सय ५० बढी बुक लिईसकेका छौं,’ उनले भने, ‘आज अन्तिम दिन भएकाले यस्तो बुकिङ अझै बढ्ने अनुमान गरिएको छ ।’

उनले ग्राहकको बढी आकर्षण भने डल्फिनको तुलनामा एट्टो ३ मा रहेको बताएका छन् । ‘हालसम्म बुक भएका गाडीहरुमध्ये एट्टो थ्रिको बुकिङ केहि धेरै छ,’ उनले भने, ‘डल्फिन र एट्टो गाडीको बुकिङ फरक ६० र ४० प्रतिशतको छ ।’

यस्ता छन् गाडीका विशेषता

नाडा अटो शोमा प्रदर्शनीमा राखिएका बीवाइडीका गाडीमा उत्कृष्ट फिचर जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार प्रदर्शनीमा राखिएको एट्टो थ्रि एडभान्स अर्थात २०२४ भर्सनमा नयाँ फिचर भने बीवाइडी एप दिईएको छ ।

टाढैबाट गाडीको अवस्थिती थाहा पाउन, गाडी चालक वा धनीको अवस्थिती थाहा पाउन र गाडीभित्रको एसी, बत्ती, हर्नलगायतलाई टाढैबाट नियन्त्रण गर्न यो प्रभावकारी मानिने कम्पनीले जानकारी दिएको छ । यो सुविधा पुरानो एट्टो ३ मा भने उपलब्ध छैन ।

यस्तै नयाँ भर्सनको एट्टो थ्री स्टाइलीस ब्ल्याक कलरमा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । बीवाईडी एटो–३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्सडमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

यता एट्टो थ्री सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । एट्टो थ्री दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एटो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ ।

यता प्रदर्शनीमा राखीएको तर, विक्री नहुने सिलायन भने सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा रहेको छ । उक्त गाडीले एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिने उक्त गाडी कम्पनीले जनाएको छ ।

अटो शो भरी बुक गरे यी अफर पाइने

आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शो भरी उक्त गाडीहरु बुक गरिएको खण्डमा १ बर्षका लागि बीमा सुविधाको व्यवस्था गरेको छ । यस्तै कम्पनीले एट्टो थ्रीमा भने १० बर्षको एप डाटा पनि उपलब्ध गराएको जानकारी दिएको छ ।

यी सबै गाडीहरु किन्दा ट्राभल चार्जर पनि उपलब्ध हुने प्रमुख बजार अधिकृत समिर श्रेष्ठले बीचखबरलाई जानकारी दिए । उनका अनुसार कम्पनीले गाडी बुकिङ गर्दा एक वर्षको इन्सुरेन्स र २.३ किलोवाटको ब्याट्री पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले गाडी विक्रीसँगै विभिन्न स्थानमा चार्जिङ स्टेशन पनि स्थापना गरी संचालनमा ल्याइएसकेको छ । हालसम्म कम्पनीले विभिन्न ३५ स्थानमा चार्जिङ स्टेशन संचालनमा ल्याएको छ भने दशैंसम्ममा ५० स्थानमा चार्जिङ स्टेशन संचालनमा ल्याउने जानकारी दिएको छ । हालसम्म बीवाइडीको देशभर १४ स्थानमा शोरुम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL