Logo

इन्साइडर ट्रेडिङ गर्नेलाई ३ करोडसम्म जरिवाना, सेयर बजारलाई प्रभावित पार्नेमाथि पनि कडा कारवाही हुने

इन्साइडर ट्रेडिङ गर्नेलाई ३ करोडसम्म जरिवाना, सेयर बजारलाई प्रभावित पार्नेमाथि पनि कडा कारवाही हुने



काठमाडौं । धितोपत्र बजारमा हुनेगरेकाे चलखेल नियन्त्रणका लागि सरकारले जरिवाना र सजाय दुबैमा परिमार्जनको प्रस्ताव गरेको छ । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’मा धितोपत्र बजारलाई असन्तुलन गर्ने, भित्रि कारोबार गर्नेलगायतका कसुरमा ३ करोडसम्मको जरिवानाको प्रस्ताव गरिएको हाे ।

गएको शुक्रबार मात्रै संसदमा दर्ता भएको उक्त विधेयकमा कसैले भित्रि कारोबार (इन्साइडर ट्रेडिङ) गरेको खण्डमा त्यस्तो व्यक्तिलाई बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिवाना वा ३ बर्षसम्म कैद वा दुबै सजाय र बिगो नखुलेकोमा ५० लाखदेखि ३ करोड रुपैयाँसम्म जरिवाना वा ३ बर्ष कैद वा दुबै सजाय हुने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

यसअघि धितोपत्र सम्बन्धी ऐन, २०६३ मा भित्रि कारोबारकाे कसुरमा बिगो बमोजिम जरिवाना वा एक बर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था थियो ।

यस्तै नयाँ विधेयकमा दफा ९४ अन्तर्गतको झुट्ठा कारोबार गर्ने, दफा ९५ अन्तर्गतको मूल्यमा उत्तारचढाव ल्याउने र दफा ९६ बमोजिम धितोपत्र बजारलाई प्रभावित पार्ने काम गरेकाे खण्डमा भने ५० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्ता कार्य गर्ने लगानीकर्तालाई बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिवाना वा तीन बर्षसम्म कैद वा दुबै सजाय र बिगो नखुलेकोमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना वा ३ बर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ । यसअघि यस्ता कसुरमा ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना वा १ बर्षसम्म कैद वा दुबै सजायकाे व्यवस्था थियो ।

नयाँ विधेयकमा ऐनको दफा ९७, ९८, ९९ र १०० बमोजिमको काम गर्नेलाई १० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना वा ३ बर्षसम्म कैद वा दुबै सजाय प्रस्ताव गरिएको छ । यदि बिगो खुलेको खण्डमा भने बिगो भराई बिगो बमोजिमको जरिवाना वा ३ बर्षसम्मको कैद वा दुबै सजाय प्रस्ताव गरिएको छ ।

यी दफामा क्रमशः झुक्याउने विवरण दिने, जालसाजीयुक्त कारोबार गर्ने, जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नपाईने र लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएको कसुर उल्लेख छन् । यस्ता कसुरमा यसअघि ऐनले १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई बर्षसम्म कैद वा दुबै सजायको व्यवस्था गरेको थियो ।

यस्तै कसैले जानीजानी वा बदनियतसाथ ऐन विरुद्धको कार्य गरेको खण्डमा अबदेखि ५० लाख रुपैयाँसम्म जरिवाना वा ३ बर्षसम्म कैद वा दुबै सजाय हुने कुरा नयाँ विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्