Logo

धितोपत्र बोर्डका अध्यक्ष र कर्मचारीलाई कुलिङ पिरियड, अब अनुमतिपत्रप्राप्त संस्थामा २ बर्षसम्म काम गर्न नपाइने

धितोपत्र बोर्डका अध्यक्ष र कर्मचारीलाई कुलिङ पिरियड, अब अनुमतिपत्रप्राप्त संस्थामा २ बर्षसम्म काम गर्न नपाइने



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष र कर्मचारीहरुलाई २ बर्षे कुलिङ पिरियड लागू हुने भएको छ । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’मा यस्तो व्यवस्थाको प्रस्ताव गरिएको हो ।

नयाँ संशोधित विधेयकमा साविकको ऐनको दफा १११ पछि १११ ‘क’ बुँदा थप्दै थप ३ उपदफा राखिएको छ । जसमध्ये पहिलो उपदफामा धितोपत्र बोर्डको अध्यक्ष भईसकेको व्यक्तिले पदबाट हटेको वा अवकाश पाएको मितिले दुई बर्षसम्म बोर्डबाट अनुमतिपत्रप्राप्त संस्थामा कुनै पदाधिकारीको हैसियतमा रही काम गर्न नपाईने व्यवस्था गरिएको छ ।

यस्तै उपदफा दुईमा भने बोर्डमा काम गरिरहेका कर्मचारीहरुलाई पनि कुलिङ पिरियड लागू हुने उल्लेख छ । उक्त उपदफामा बोर्डको अधिकृत प्रथम श्रेणी वा सोभन्दा माथिको पदबाट हटेको वा अवकाश पाएको कर्मचारीले अवकाश पाएको मितिले दुई बर्षसम्म बोर्डबाट अनुमतिपत्रप्राप्त संस्थामा कुनै पदाधिकारीको हैसियतमा रही काम गर्न नपाउने व्यवस्था गरिएको छ ।

तर, सोही दफाको उपदफा ३ मा भने नेपाल सरकारबाट नियुक्त हुने पदमा भने उपदफा १ र २ लागू नहुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL