काठमाडौं । भाटभेटी सुपरमार्केटकका संचालक मीनबहादूर गुरुङले रोडसो सेक्युरिटीको बहुमत सेयर खरिद गरेका छन् । यसअघि रियलस्टेट तथा सेयर बजारका खेलाडी कालु गुरुङले लाईसेन्स लिएको रोडसो सेक्युरिटी स्टक ब्रोकरको बहुमत सेयर मीनबहादूर गुरुङले खरिद गरेका हुन् ।
कुल २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको रोडसो सेक्युरिटीको केही समय अघिमात्रै मीनबहादूर गुरुङले बहुमत सेयर खरिद गरेका हुन् । नेपालको चर्चित सुपरमार्ट भाटभटेनीका संचालक एवं सफल व्यवसायी गुरुङ सेयर बजारका खेलाडी समेत हुन् । यसअघि नेपाल टेलिकमको ठूलो कित्ता सेयर खरिद गरेर होल्ड गरेका गुरुङले सेयर बजारमा ठूलो मात्रामा सेयर खरिदबिक्री गर्दै आएका छन् । उनले आफ्नो प्रोक्सीबाट टेलिकममा सर्वसाधारण लगानीकर्ताको तर्फबाट संचालक पठाउँदै आएका छन् ।
तर उनले पछिल्लो समय आफैले ब्रोकर किनेर सेयर खरिदबिक्री गर्ने सोच अनुरुप रोडसोको बहुमत सेयर खरिद गरेका हुन् । मीनबहादूर गुरुङले रोडसोको बहुमत सेयर खरिद गरेसँगै विष्णुप्रसाद सापकोटालाई डेपुटी सीईओ बनाएर लगेका छन् । यसअघि नबिल क्यापिटल, नबिल स्टकमा काम गरिसकेका सापकोटालाई मीनबहादुरले बहुमत सेयर खरिद गरेसँगै डिसीईओ बनाएका हुन् ।
सेयर बजारमा एग्रेसिभ रुपमा प्रवेश गर्ने सोच अनुरुप मीनबहादूरले रोडसोको बहुमत सेयर खरिद गरेका उनी निकटस्थ स्रोतले जानकारी दिएको छ । धितोपत्र ब्रोकरको नयाँ लाईसेन्स खुलेसँगै सबैजसो लगानीकर्ताहरुले आ–आफ्नै ब्रोकर खोलेका छन् । पछिल्लो समयको बढ्दो बजारलाई मध्यनजर गर्दै मीनबहादुर गुरुङले पनि ब्रोकर व्यवसायमा प्रवेश गरेका सम्बद्ध स्रोतले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई सेयर धितोकर्ताको सीमा खुला गरेसँगै अहिले ठूलो लगानीकर्ताहरु संस्थाबाट कर्जा लिएर बजारमा प्रवेशको तयारी गरिहेको छन् भने सोही अनुरुप कर्जाको लागि बैंकमा आवेदन दिएका छन् ।