Logo

सेयर बजार घटाउन स्वार्थ समुहको इसारामा संसदमा परिचालित अमरेश–प्रकाशशरण तत्व, लहलहैमा लाग्ने लगानीकर्ता

सेयर बजार घटाउन स्वार्थ समुहको इसारामा संसदमा परिचालित अमरेश–प्रकाशशरण तत्व, लहलहैमा लाग्ने लगानीकर्ता



काठमाडौं । लगातार ३ वर्ष घटेर उकालो गति लिन थालेको नेपाली सेयर बजार हिजो (मंगलबार) एक्कासी उच्च अंक (१४५)ले घट्न पुग्यो । तीन वर्ष अघिको ३२ सय अंंकबाट घटेर १८ सय अंकमा झर्दै लामो समय २१ सय अंकमा रुमलिएको सेयर बजार नेकपा एमालेको नेतृत्वमा नेपाली कांग्रेस सम्मिलित सरकार गठन हुने भएसँगै बढ्न सुरु गरेको थियो । त्यसमा पनि सेयर बजारसँग सकारात्मक परिचय बनाएका विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएसँगै नेप्सेले उच्च गति लिएको थियो ।

करिव ३ वर्ष अघि २०७८ भदौ २ गते अर्थात नेप्से परिसुचक हालसम्मकै उच्च विन्दु ३२ सय पार गरेको समयमा नेप्सेमा सुचिकृत कम्पनीलाई आधार मानेर हेर्दा अहिलेपनि नेप्से परिसुचक २ हजारकै आसपासमा रहेको छ । तत्कालिन समयमा सेयर किनेका लगानीकर्ताहरुको अहिलेसम्म पनि खरिद मूल्य पाउन सकेको छैन । तर, त्यसयता नेप्सेमा ठूलो संख्यामा ठूला कम्पनीहरु सुचिकृत भएको र तीनैको योगदानको कारण नेप्से परिसुचक र बजार पुँजीकरण ह्वात्तै बढ्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

नयाँ सरकार गठनसँगै नेप्सेमा इन्ट्रा डे करेक्सन हुँदै बजार लगातार ७ यस अंकले बढ्दै २८ सय विन्दू छुन पुग्यो । तर त्यसबीचमा बजारका केही खेलाडीहरुले भने नेप्से परिसुचक २५÷२६ सय अंक पुगेपछि करेक्सन आउने र त्यसपछि मात्रै प्रवेश गर्ने बताउँदै आएका थिए । तर उनीहरुको सोच विपरित नेप्सेले आफ्नो गति लिँदै २८ सय अंक छुन पुग्यो र ती खेलाडीहरु सस्तो मूल्यमा बजारमा प्रवेश गर्न पाएनन् भने अहिलेको बजारसँग चुके ।

तर तीनै खेलाडीहरु जसरी पनि बजार घटाएर छिर्ने दाउ बनाईरहँदा उनीहरुले संसदको रोस्टमलाई नै दुरुपयोग गरेका छन् । उनीहरुले पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र स्वतन्त्र सांसद अमरेश सिंहलाई प्रयोग गर्दै संसदमा सेयर बजार सम्बन्धी नकारात्मक अभिव्यक्ति दिन लगाए । सिंह र महतले सीमित स्वार्थ समुहको एजेण्डलाई संसदको रोस्टममा उभिएर बोलिदिँदा मंगलबार लगानीकर्ताले आफ्नो २ खर्बभन्दा बढी सम्पती एकैदिन गुमाउनुपर्याे कुनै पनि विषयमा गलत भएमा त्यस विषयमा छानविन गरी कानुनी कठघरामा ल्याउनु पर्छ । तर सांसदद्वय सिंह र महतले स्वार्थ समुहको एजेण्डा बोकेर संसदमा सेयरको स्क्रिप्ट र व्यक्तिको नामनै तोकेर बजारलाई घटाउने अभिव्यक्ति दिए । जुन एकदमै गलत भएको सम्बद्ध लगानीकर्ता र अर्थविद्हरुले सामाजिक संजालमार्फत बताउँदै आएका छन् ।

महत र सिंहले संसदबाट सेयर बजारको विषयमा नकारात्मक टिकाटिप्पणी गरेकै कारण मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको एक लगानीकर्ताले जानकारी दिए । ‘सेयर बजार लगानीकर्ताको मनोविज्ञानमा चल्छ भने नेपालको सेयर बजार परिपक्व भईसकेको छैन,’ ती लगानीकर्ताले भने, ‘विशेषगरी सेयर बजारको सिद्धान्त भनेको घट्दा किन्ने बढ्दा बेच्ने हो, अहिले लगानीकर्ताहरु ठिक त्यसको विपरित सेयर बजार बढ्न थाल्यो भने जति मूल्य पनि हालेर खरिद गर्न थाल्छन् तर घट्न थाल्यो भने जतिपनि घाटा खाएर बेच्छन् ।’ साथै नेपालका अघिकांश लगानीकर्ताहरु भेडाको बथान शैलीमा अघि बढेको समेत ती लगानीकर्ताले जानकारी दिए ।

अर्को कुरा संसदमा केही सांसदले स्वार्थ समुहको एजेण्डा लिएर बोलेकै भरमा लगानीकर्ता आफ्नो खातामा भएको सेयर हचुवाको भरमा फाल्नु पनि गलत भएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘यदि बजार बढ्दै परिपक्व बन्दै गएको छ भने केही सांसदले जे बोलेपनि बजारलाई आफ्नो गतिमा अघि बढ्न दिनुपर्छ,’ ती लगानीकर्ताले भने, ‘तर मंगलबार लगानीकर्ताले पुँजी बजार घटाउन स्वार्थ समुहको रोदन बोल्ने सासंदको अभिव्यक्तिलाई लिएर बजारमा पेनिक सेल गराए जुन गलत छ ।’ साथै यसले नेपालका लगानीकर्ता बजार बुझेर भन्दा पनि अरुको लहैलहै वा हचुवाको भरमा चलेको भन्ने प्रष्ट देखिन्छ । लगानीकर्ताले आफ्नो विवेक प्रयोग गर्नुभन्दा पनि अरुको पछि लाग्दा मंगलबार सेयर बजारले नराम्रो नियति भोग्नु परेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL