Logo

रिलायन्स स्पिनिङ मिल्सको बुक विल्डिङमा सिआइबीले थाल्यो अनुसन्धान, सेबोनसँग माग्यो विस्तृत विवरण

रिलायन्स स्पिनिङ मिल्सको बुक विल्डिङमा सिआइबीले थाल्यो अनुसन्धान, सेबोनसँग माग्यो विस्तृत विवरण



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङमार्फत जारी गर्न लागेकाे आइपीओमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले अनुसन्धान सुरु गरेको छ । कम्पनीले अस्वभाविक धेरै मूल्य राखेर सर्वसाधारणमा सेयर जारी गर्न लागेको भन्दै सिआईबीमा परेको उजुरीपश्चात व्युरोले अनुसन्धान सुरु गरेको हो ।

कम्पनीले आइपीओ जारी गरेको केहि समयपछि नै सिआईबीमा उक्त आइपीओविरुद्ध उजुरी परेपछि यसको बारेमा छानविन सुरु गरिएको सिआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । ‘उजुरी पर्नेवित्तीकै हामीले पहिलो चरणको अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘यसको विस्तृत विवरण नेपाल धितोपत्र बोर्डसँग लिखित रुपमै माग गरेका छौं, उक्त प्रतिवेदन आएपछि करिव १ महिनामा हाम्रो विस्तृत अनुसन्धान अघि बढ्नेछ ।’

यसअघि सर्वासाधारणको लगानी सुरक्षाका लागि भन्दै गत हप्ता मात्रै उच्च अदालत पाटनले पनि कम्पनीको आइपीओ रोक्न आदेश जारी गरिसकेको छ ।

बुक विल्डिङ विधिको दूरुपयोग गरी रिलायन्स स्पिनिङ मिल्सले आइपीओ जारी गर्न लागेको भन्दै उच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा सुनुवाई गर्दे अदालतले दुबै पक्षलाइ थप बयान र छलफलका लागि साउन १४ गते अदालतमा बोलाएको छ ।

विद्युत महशुल बक्यौता विवादका कारण लामो समयदेखि रोकिएको रिलायन्सको आईपीओ नयाँ अध्यक्ष आएसँगै बोर्डका नियमन विभागका कार्यकारी निर्देशक मक्तिनाथ श्रेष्ठले जसरी पनि स्वीकृति दिनुपर्ने भन्दै एकलौटी तरिकाले अघि बढाएका थिए । कार्यकारी निर्देशक श्रेष्ठको सिफारिसका आधारमा बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले उक्त आइपीओ स्वीकृत गरेका थिए । तर, उच्च मूल्य तय गरेर गरिएको आईपीओ निश्काषनको चौतर्फी आलोचना र विरोध भएको थियो ।

आइपीओ स्वीकृत भएसँगै कम्पनीको पछिल्लो समय प्रकाशित वित्तीय विवरण र विद्युत महशुल बक्यौताका कारण उक्त कम्पनीको आईपीओ विवादमा तानिएको थियो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाका दरले आइपीओ जारी गर्न लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्