Logo

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया रद्द, अब के होला ?

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया रद्द, अब के होला ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयनको प्रक्रिया रद्द भएको छ । सर्टलिस्टमा परेका पाँच जनामध्ये ३ जना आवेदनकर्ता अन्तरवार्ताका लागि उपस्थित नै नभएपछि अध्यक्ष छनोट समितिले यो प्रक्रिया स्थगित गरेको हो । यसअघि बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई असार २ गतेका लागि अन्तरवार्ता र प्रस्तुतिकरणमा बोलाएपनि २ जना मात्रै उपस्थित भएका थिए । बाँकी रहेका ३ जनालाई पुनः अन्तरवार्ताका लागि असार ५ गते बोलाईएपनि उनिहरुले उक्त दिन पनि अन्तरवार्ता र प्रस्तुतिकरण बहिस्कार गरेका थिए ।

यसरी दुबै पटकको अन्तरवार्तामा ३ जना नै अनुपस्थित भएपछि समितिले मन्त्रिपरिषदलाई ३ जनाको नाम सिफारिस नै गर्न पाएको थिएन । धितोपत्र सम्बधि ऐनमा छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नैपर्ने व्यवस्था छ । तर, ५ जनामध्ये दुई जना मात्रै अन्तरवार्तामा उपस्थित भएपछि समितिले महान्याधिवक्ताको कार्यालयसँग सुझाव माग गरेको थियो । तर, कार्यालयले पनि २ जनाको नाम मात्रै सिफारिस गर्न नहुने सुझाव दिएपछि उक्त प्रक्रिया नै रद्ध भएको हो ।

बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । जसमध्ये अन्तिम ५ जनामा सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल बीमा समिति (हाल बीमा प्राधिकरण)का पूर्व अध्यक्ष चिरञ्जीवी चापागाँई र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीको नाम छनोट भएको थियो । यिनै ५ जनाबाट छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने थियो । जसमध्येबाट १ जना बोर्ड अध्यक्षमा नियुक्त हुने प्रावधान थियो । तर, छनोट समितिले बोलाएको प्रस्तुतीकरणमै ३ जना उपस्थित नभएपछि बोर्डको अध्यक्ष छनोट प्रक्रिया नै स्थगित भएको हो ।

गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमाल कार्यकालका कारण बाहिरिएसँगै हालसम्म उक्त पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL