Logo

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया थप अन्योलमा, अन्तरवार्तामा बोलाइएका ३ जना पुनः अनुपस्थित

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया थप अन्योलमा, अन्तरवार्तामा बोलाइएका ३ जना पुनः अनुपस्थित



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि सर्टलिस्टमा परेका ३ जनाले पुनः अन्तरवार्ता बहिस्कार गरेको छन् । बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई गत आईतबारका लागि अन्तर्वार्ता र प्रस्तुतिकरणमा बोलाएपनि २ जना मात्रै उपस्थित भएका थिए । बाँकी रहेको ३ जनालाई पुनः अन्तरवार्ताका लागि बुधबार (आज) बोलाईएपनि उनिहरुले आज पनि अन्तरवार्ता र प्रस्तुतिकरण बहिस्कार गरेका हुन् ।

यसअघि लामो समयसम्म अन्यौलमा रहेको बोर्ड अध्यक्ष नियुक्ती प्रक्रियालाई अघि बढाउन छनोट समितिले ५ जनाको नाम सर्टलिस्टमा राख्दै आईतबार अन्तर्वार्ताका लागि बोलाएको थियो । तर अन्तर्वार्तामा बोलाएकामध्ये सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै उपस्थित भएका थिए ।

विभिन्न कारणले आईतबार प्रस्तुतीकरणमा उपस्थित हुन नसकेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल बीमा समिति (हाल बीमा प्राधिकरण)का पूर्व अध्यक्ष चिरञ्जीवी चापागाँई र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई कार्यपत्र प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बुधबार बिहान ९ बजे बेलाईएको थियो ।

तर, दोस्रोपटक बोलाईएको प्रस्तुतिकरणमा पनि उनिहरु अनुपस्थित भएपछि धितोपत्र बोर्डको अध्यक्ष चयन अन्योलतातर्फ धकेलिएको छ । बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । जसमध्ये अन्तिम ५ जनामा उनीहरुको नाम छनोट भएको थियो । यिनै ५ जनाबाट छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने थियो । जसमध्येबाट १ जना बोर्ड अध्यक्षमा नियुक्त हुने प्रावधान थियो । तर, छनोट समितिले बोलाएको प्रस्तुतीकरणमै ३ जना उपस्थित नभएपछि बोर्डको अध्यक्ष छनोट प्रक्रिया नै स्थगित हुने अवस्थामा पुगेको छ ।

गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमाल कार्यकालका कारण बाहिरिएसँगै हालसम्म उक्त पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL