Logo

नेपालमै बनेका हुन्डाईका दुई मोडलको मूल्य सार्वजनिक, विक्री वितरण सुरु

नेपालमै बनेका हुन्डाईका दुई मोडलको मूल्य सार्वजनिक, विक्री वितरण सुरु



काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन बाट नेपालमा नै उत्पादन भएको हुन्डाई भेन्युको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यसका दुई मोडलको मूल्य सार्वजनिक गर्दै यसको विक्री वितरण पनि सुरु गरेको हो ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाईको कोरिया र भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको बताईएको छ । यसरी हालसम्म नेपालमा उत्पादन भईसकेका हुन्डाईका भेन्यु १.२ एस र १.२ एसएक्सको मूल्य सार्वजनिक गरिएको छ । जसमा पहिलो १.२ एसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ भने एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आइ १० एनााइओस र हुन्डाई क्रेटा पनि उत्पादन सुरु गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्