काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । पछिल्लो समय दवावमा रहेको सेयर बजार चालु हप्तामा भने केहि उकालो बाटो तय गरिरहेको देखिएको हो । यसअघि आईतबार ८ अंकले उकालो लागेको नेप्से सोमबार भने २४.३९ अंकले बढ्दै १९९८ को विन्दुमा पुगेर रोकिएको हो ।
कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्सेमा आज ३ सय २० कम्पनीका ९५ लाख ४१ हजार १७ कित्ता सेयर ४५ हजार ८ सय २८ पटक किनबेच भएका छन् । यसरी आज कारोबार अवधिभर कुल ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १ सय ४८ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने ८५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको नेप्सेले जानकारी दिएको छ । आज नारायणी विकास बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सिर्जनशिल लघुवित्त र हिमालयन उर्जा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३० करोड रुपैयाँ बढीको सेयर कारोबार हुँदा दोस्रो धेरै कारोबार हुनेमा सीइबीडी हाइड्रोपावर रहेको छ । सोमबार यो कम्पनीको सेयर २८ करोड बढीको भएको हो ।