Logo

प्रचण्ड र ओली ३ घण्टा लामो भेट : व्यक्ति माओवादी काम एमालेको सर्तमा पनि टुङ्गिएन सेबोन अध्यक्ष, सहमतिमा भन्दै फर्किए बर्षमान

प्रचण्ड र ओली ३ घण्टा लामो भेट : व्यक्ति माओवादी काम एमालेको सर्तमा पनि टुङ्गिएन सेबोन अध्यक्ष, सहमतिमा भन्दै फर्किए बर्षमान



काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच ३ घण्टा लामो छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार प्रचण्ड र ओलीबीच बोर्ड अध्यक्ष नियुक्तिका विषयलाई लिएर छलफल भएको हो ।

पछिल्लो समय धितोपत्र बोर्ड अध्यक्षको विषयलाई लिएर सत्ता साझेदार माओवादी र एमोलबीच विवाद देखिएको विषय सतहमा आएको छ । दुबै पार्टीले आफु निकटमा व्यक्तिलाई बोर्ड अध्यक्षमा अघि सारेपछि विवाद आएको थियो । तर, विवाद सतहमा आएको र अहिलेको अवस्थामा धितोपत्र बोर्डको अध्यक्षलाई सत्तासाझेदार बीच लडाइको विषय बनाउन नहुने भन्दै प्रधानमन्त्री र ओलीबीच लामो छलफल भएको वालुवाटार निकट स्रोतले जानकारी दिएको छ । ‘एमाले अध्यक्ष ओली धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयलाई लिएर बालुवाटार आउनु भएको थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘तर ओलीलाई टाउको दुखेपछि सिटामोल खाएर बालुवाटारमै आराम गर्नुभयो जसका कारण बोर्ड अध्यक्षको विषयमा पनि लामो छलफल भयो ।’

छलफलमा प्रधानमन्त्री प्रचण्डले अहिलेको अवस्थामा बोर्डमा पात्र अध्यक्ष जो नियुक्त गरेपनि नयाँ स्टक एक्स्चेञ्जको लाईसेन्स दिनेदेखि ठूला निर्णयहरु ओलीले नै भनेअनुसार गरिदिने भन्दै प्रस्ताव राखेका थिए । ‘अर्थमन्त्री वर्षमान जी आफ्नो बोलीमा अलि बढी नै अडान राख्नुहुन्छ तसर्थ तपाई (ओली) पात्रमा नअड्किनुस काम तपाईले नै भनेअनुसार हुन्छ ढुक्क हुनुुस,’ प्रधानमन्त्री प्रचण्डको भनाई उदृत गर्दै बालुवाटार स्रोले भन्यो, ‘म बर्षमान जीलाई तपाईलाई भेट्न पठाउँछु दुईजनाबीच छलफल गरेर सहमति मै बोर्डको अध्यक्ष टुङ्ग्याउनु पर्छ म तपाईहरुको निर्णय मान्छु ।’

प्रधानमन्त्री प्रचण्ड र ओली बालुवाटारबाट छुटेसँगै प्रचण्डको आग्रहमा बोर्ड अध्यक्षको विषय टुङ्ग्याउन अर्थमन्त्री पुन बालकोट पुगेका थिए । बालकोटमा भएको छलफलमा पनि अर्थमन्त्री पुनले सत्तासाझेदार एमाले अध्यक्ष ओलीलाई अहिलेको अवस्थामा को पात्र नियुक्ति गर्ने भन्दा पनि के काम गर्ने त्यसमा सहमति गरेर अघि बढ्न आग्रह गरेको उक्त स्रोतले जानकारी दिएको छ । ‘माओवादीको नेतृत्वमा सरकार भएको र म अर्थमन्त्री भएको कारण बाहिर देखाउनका लागि पनि अहिलेको अवस्थामा माओवादी निकटको व्यक्ति बोर्डको अध्यक्षमा नियुक्त गरौं काम तपाई (ओली)ले भने अनुसार सबै गर्न तयार छु,’ अर्थमन्त्री पुनको भनाई उदृत गर्दै उक्त स्रोतले भन्यो, ‘तर अध्यक्ष ओलीले भने आफुले भनेकै व्यक्ति बोर्ड अध्यक्ष हुनुपर्ने भन्दै अडान राखेपछि अर्थमन्त्री पुन सहमतिमै बोर्ड अध्यक्ष नियुक्त गरौँला भन्दै बालकोटबाट बाहिरिनु भएको थियो ।’

पछिल्लो समय प्रधानमन्त्री पुत्री गंगा दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटै पात्रलाई अघि सारेपछि अर्थमन्त्री पुनले अहिलेको अवस्थामा प्रधानमन्त्री र अर्थमन्त्री दुबै माओवादीका भएका कारण आफु निकटमा व्यक्ति बोर्ड अध्यक्ष हुनुपर्ने भन्दै अडान राख्दै आएको उक्त स्रोतले जानकारी दिएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्ने भएकाले पनि आफ्नो प्रतिस्ठाका लागि पनि आफु र आफ्नो पार्टी निकटका व्यक्ति बोर्ड अध्यक्ष हुनुपर्ने अडानमा अर्थमन्त्री पुनः रहेका छन् ।

बोर्डको अध्यक्ष हुनका लागि १९ जनाले आवेदन दिएकोमा सिफारिस समितिले कृष्ण बहादूर कार्की, सन्तोष नारायण श्रेष्ठ, चिरञ्जिवी चापागाई, डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठको नाम पाँच जनाको सुचिमा निकालेको छ । तीनै ५ जनाबाट मन्त्रिपरिषद्मा ३ जनाको नाम सिफरिस गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL