Logo

इन्भेष्टमेन्टको बोनसले पनि तातेन नेप्से, बजारबाट कालोधन बाहिरिँदै

इन्भेष्टमेन्टको बोनसले पनि तातेन नेप्से, बजारबाट कालोधन बाहिरिँदै


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बोनस घोषणा शुरु गरिरहँदा नेप्से परिसुचक भने ओरालो लाग्ने क्रम रोकिएको छैन । लगानीकर्ताहरु नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद र सेयर गरी ४१ प्रतिशत बोनस दिने घोषणासँगै बजार बढ्ने आसमा बसेकोमा अन्तत ओरालो लागेको छ ।

आजै मात्र काष्ठमाण्डप डेभलपमेन्ट बैंक तथा सिद्धार्थ इन्स्योरेन्सले पनि २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेका छन् । तर, सोमबार बजार भने झण्डै ४० अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से परिसुचक अन्तमा ३९ दशमलव ३१ प्रतिशतले घटेको छ । सोमबार नेप्से परिसुचक घटेर १ हजार ६ सय ८३ अंकमा झरेको छ ।

बजारबाट स्रोत नखुलेको पैसा (कालोधन) बाहिरिन थालेकाले नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागेको एक लगानीकर्ताले बताए । ‘केही समय अघि कालोधनको प्रवेशले गर्दा बजारमा दैनिक २ अर्ब रुपैयाँभन्दा बढीको कारोवार भइरहेको थियो भने बजार पनि सोही अनुरुप बढेको थियो,’ ती लगानीकर्ताले भने, ‘अहिले त्यस्ता लगानीकर्ताहरु विस्तारै वाहिरिँदै छन् जसले गर्दा बजार र कारोवार रकम दुवै ओरालो लागेको हो ।’ नेपालको स्टक मार्केटको वास्तविक दैनिक कारोवार रकम १ अर्ब रुपैयाँभन्दा बढी नरहेको समेत उनको दावी थियो ।

सोमबार बजारमा सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुुचक घटेको छ । सो समुहको परिसुचक २ सय २२ अंकले घट्दा बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि झण्डै ३३ अंकले ओरालो लागेको छ ।  यसैगरी विकास बैंक समुह ४० अंकले घट्दा फाइनान्स समुह २१ अंकले ओरालो लागेको छ । बजारमा सवैजसो समुहका परिसुचक ३० अंकभन्दा बढीले नै घटेका छन् ।

आइतवारको तुलनामा समान्य रुपमा कारोवार रकम बढेपनि साविकको तुलनामा निकै कम रहेको छ । केही समय अघिसम्म दैनिक २ अर्ब रुपैयाँको सेयर कारोवार हुने गरेकोमा सोमबार ८६ करोड रुपैयाँको मात्र सेयर खरिदविक्री भएको छ । जसमा नेपाल इन्भेष्टमेन्ट बैंकको १३ करोड रुपैयाँको सेयर खरिदविक्री हुँदा बजारमा कारोवार रकम बढ्न गएको छ ।

सोमबार दिनभर कुल १ सय ४० कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ११ लाख ९० हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL