Logo

सुनचाँदी महासंघका चुनावी सरागर्मी, सहमति नभए १ वर्षको समय थपिने

सुनचाँदी महासंघका चुनावी सरागर्मी, सहमति नभए १ वर्षको समय थपिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समय यता नेपाल सुनचाँदी व्यवसायी महासंघमा चुनावी सरागर्मी बढेको छ । महासंघमा अध्यक्ष पदका लागि मोहनकुमार सुनुवार र माणिकरत्न शाक्य चुनावी मैदानमा छन् । सुनुवार अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन भने शाक्य यस अघिको चुनावमा मणिरत्न शाक्यसँग अध्यक्षमा पराजित भएका हुन् । महासंघको चौथो साधारण सभा तथा दोस्रो चुनाव यहि भदौं २४ र २५ गते हुँदैछ ।

mohankumar_sunuwarmanikratna shakya

अहिले महासंघका दुवैबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुवै जना व्यवसायीक क्षेत्रमा लामो समयदेखि कार्यरत भएकाले पनि उनीहरुबीच कडा प्रतिस्पर्धा देखिएको हो । तनहुँ उद्योग वाणिज्य संघकका पूर्व अध्यक्ष सुनुवारलाई जिल्लाबाट राम्रो समर्थन रहेको स्रोतको दावी छ । यसैगरी, ग्रामिण विकास बैंकका अध्यक्ष रहेका शाक्यलाई भने उपत्यकाको समर्थन छ । जसले गर्दा पनि उनीहरु बीच कडा प्रतिस्पर्धा देखिएको हो ।

३३ सदस्यीय कार्यसमिति रहने महासंघमा दुवै अध्यक्षले आ–आफ्नो प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका छन् । तर, दुवै अध्यक्षले भने महासचिवमा हालका सचिव धर्मसुन्दर बज्राचार्यलाई अघि सारेका छन् । अहिले अध्यक्षका दुवै प्रतिस्पर्धी चुनावी माहोल आफ्नो पक्षमा पार्न जिल्ला दौडाहामा लागेका छन् ।

तर, यसरी अस्वस्थ्य प्रतिस्पर्धामा चुनावी प्रतिस्पर्धामा उत्रनु संस्थाको लागि खतरा भएको सोही महासंघका अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । ‘अहिले जसरी २ जना प्रतिस्पर्धी प्यानल नै खडा गरी चुनावी मैदानमा उत्रिएका छन् यो एकदमै गलत छ,’ उनले भने, ‘तसर्थ सहमति र सहकार्यबाटै अध्यक्षलगायत पदाधिकारी चयन हुनुपर्छ ।’ सामाजिक संस्थामा यस्तो तडक भडक र ठूलो रकम खर्च गरेर चुनावमा उत्रनु गलत भएको समेत उनको तर्क छ ।

प्यानलनै बनाएर चुनावी प्रतिस्पर्धामा जाँदा महासंघमा फुटको खतरा बढ्ने भन्दै सहमति र सहकार्यमा कार्यसमिति चयन भएन भने त्यसको लागि जुनसुकै कमद चाल्न पछि नहट्ने अध्यक्ष शाक्य बताउँछन् । ‘महासंघको विधान अनुसार संस्थालाई अप्ठ्यारो परेको अवस्थामा यहि कार्यसमितिलाई थप १ वर्ष लम्ब्याउन सकिन्छ,’ उनले भने, ‘सहमति र सहकार्य भएन भने पूर्ण बैंठकबाट सहमति लिएर १ वर्ष कार्यकाल थपिने छ ।’

प्रतिक्रिया दिनुहोस्