Logo

सामान्य लयमा फर्कियो नेप्से, किन खुम्चिदै छ कारोवार ?

सामान्य लयमा फर्कियो नेप्से, किन खुम्चिदै छ कारोवार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो २ दिन उच्च रुपमा ओरालो लागेको नेप्से परिसुचक पछिल्ला २ दिन समान्य लयमा फर्किएको छ । आइतबार र सोमवार गरी ८० अंकले घटेको नेप्से परिसुचक मंगलबार र बुधबार बढेको छ ।

मंगलबार २२ अंकले ओरालो लागेको नेप्से परिसुचक बुधबार १७ अंकले बढ्ने गएको छ । बजार खुलेदेखि सामान्य रुपमा उकालो लागेको नेप्से मध्य भागमा आएर बढेको हो । बुधबार नेप्से परिसुचक १७ दशमलव ६१ अंकले बढेर १ हजार ७ सय ३५ अंकमा पुगेर अडिएको छ ।

बजारमा फाइनान्स र उत्पादनमुलक समुहका परिसुचक वाहेक अरु सवै समुहका परिसुचक उकालो लागेका छन् । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक उकालो लागको छ । सो समुहको परिसुचक १ सय अंकले बढ्दा बैंकिङ समुहको परिसुचक १६ अंकले उकालो लागेको छ । त्यसैगरी, विकास बैंक २६ अंकले बढेको छ भने जलविद्युत समुह १५ अंकले उकालो लागेको छ ।

पछिल्लो २ दिनमा बजार उकालो लागेपनि कारोवार रकम भने ओरालो लागेको छ । केही समय अघिसम्म बजारमा दैनिक २ अर्ब रुपैयाँको सेयर खरिदविक्री भइरहेकोमा बुधबार १ अर्ब रुपैयाँको मात्र कारोवार भएको छ । बजारमा दिनभर १ सय ४५ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १६ लाख ९७ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

लगानीकर्ताको आत्मबल र बजार प्रतिको विश्वासनियता खस्किएको कारण कारोवार रकम खुम्चिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् । ‘बजार दैनिक जसो ठूलो मात्रामा तलमाथी भइरहेकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने, ‘भर्खरै सरकार परिवर्तन भएकाले मार्केटसम्बन्धी नयाँ व्यवस्था आउन सक्ने भएकाले लगानीकर्ता सजक भएका हुन् ।’ बजार केही सुध्रिने वित्तिकै कारोवार रकम बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्