काटमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । नेप्से सूचकसंगै सेयर कारोबार रकम पनि १३ महिना यताकै उच्च पुगेको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा आईपुगेको छ । यस हप्ताको पहिलो कारोबार दिन पनि सेयर बजार बढेको थियो । सोमबार माघे संक्रान्ती परेका कारण सेयर कारोबार भएको थिएन । आइतबार नेप्से सूचक ३१.६२ अंकले बढेको थियो ।
यसैगरी, मंगलबार ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस अघि २०७९ पुस २६ गते ७ अर्ब ६५ करोडको कारोबार भएको थियो । यस साताको पहिलो कारोबार दिन आइतबार भने ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका सबै उपसमूह उकालो लागेका छन् । यसदिन सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक बढेको छ । मंगलबार कारोबारमा आएको १२ कम्पनीको सेयर लगभग १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ९ प्रतिशतभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीको संख्या २० वटा रहेको छ । मंगलबार ३ सय ४ कम्पनीको २ करोड ३३ लाख ७ण् हजार ५३ कित्ता सेयर १ लाख ३३ हजार ६१ पटक किनबेच भएको छ । कारोबारमा आएको २ सय १४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्य यथावत रहेको नेपाल स्टक एक्स चेन्ज (नेप्से)ले जानकारी दिएको छ ।
आज २८ करोड ३१ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः निफ्रा र एनआरएन इन्फ्रास्टक्चर परेका छन् ।