Logo

२ दिनमा ८० अंकले ओरालो लाग्यो नेप्से, के भन्छन् ठूला लगानीकर्ता ?

२ दिनमा ८० अंकले ओरालो लाग्यो नेप्से, के भन्छन् ठूला लगानीकर्ता ?


बिजखबर संवाददाता
0
Shares

काठमडौं । नेप्से परिसुचक २ दिनमा ८० अंकले ओरालो लागेको छ । बजार सोमबार पनि ३९ दशमलव १२ अंकले ओरालो लागेपछि नेप्से २ दिनमै उच्च रुपले घट्न गएको हो ।
बजारमा लगानीकर्ताहरु परिपक्क नहुँदा पछिल्लो समय दिनहु ओरोलो लाग्दै आएको ठूला सेयर लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । ‘पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताको आगमन बढेको छ,’ उनले भने, ‘उनीहरुले बजारको वास्तविकता नबुझी हल्लाको भरमा खरिदविक्री गरिरहेका छन्, जसको असर अहिले देखिन थालेको छ ।’ साथै नेपालको स्टक मार्केटकको चरित्र परिपक्क नभइसकेको समेत उनको तर्क छ ।

यसैगरी पछिल्लो समय नियामक निकायले पनि स्रोत नखुलेको पैसा (कालोधन)को हल्ला फैलाएर बजारमा नकारात्मक असर गरेको उनको तर्क छ । ‘नेपालको कुन व्यवसायमा सवै स्रोत खुलेको लगानी छ,’ उनले भने, ‘तसर्थ स्टक मार्केटलाई मात्र तारो बनाउनु ठिक होइन ।’ नेपालको व्यवसायमा स्रोत खुलेको भन्दा स्रोत नखुलेको लगानी बढी रहेको समेत उनले जानकारी दिए ।

यसैगरी, हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका प्रवन्ध संचालक अम्बिकाप्रसाद पौडेल पनि बजार घट्नु नियममित प्रक्रिया भएको बताउँछन् । बजार केही दिनका लागि ओरालो लागेको र आगामी दिनमा बढ्ने उनको तर्क छ । ‘बजारको यहि उचाइ उच्चतम होइन,’ उनले भने, ‘बजार बढ्नको लागि तलमाथी भइरहेको छ ।’
तर, केही लगानीकर्ता भने कालोधनको प्रभावले गर्दा बजार घटिरहेको बताउँछन् । केही समयसम्म कालोधन प्रवेश गराएर बजार बढाइएको र पछिल्लो समय त्यस्ता लगानीकर्ता वाहिररहेको समेत केही लगानीकर्ताहरुको तर्क छ ।

यता नेपाल इम्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरे भने बजार उच्चतम विन्दुमा पुगेको र भविश्यको वारेमा रिक्स लिन नसक्ने भएका कारण लगानीकर्ताले घटेरै भएपनि सेयर विक्री गरिहेको बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाको प्रतिफल लिन अझैं ८/९ महिना लाग्छ,’ उनले भने, ‘त्यो अवस्थासम्म नेपालको सेयर बजार कुन दिशामा जाने हो टुङ्गो छैन ।’

सोही अनुरुप बजारमा सोमबार पनि सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक २ सय ३४ अंकले घट्न गएको छ । केही समयसम्म उच्च रुपमा बढेको बीमा समुह पछिल्लो समय सोही गतिमा ओरालो लागिरहेको छ । यसैगरी नेप्सेमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ४१ अंकले घट्न गएको छ भने विकास बैंक समुह ३८ अंकले ओरालो लागेको छ ।

यसैगरी बजारमा जलविद्युत समुह पनि झण्डै ५० अंकले घटेको छ । होटल समुहको परिसुचक पनि ७६ अंकले ओरालो लागेको छ । बजारमा दिनभर कुल १ सय ४१ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब १९ करोड रुपैयाँ बरावरको २४ लाख १७ हजार कित्ता सेयर खरिदविक्री भएका छन् । जसमध्ये सवैभन्दा बढी नेपाल बंगलादेश बैंकको ९ करोड ३४ लाख रुपैयाँको सेयर विक्री भएको छ । केही समययता नेपाल बंगलादेश बैंक बढी कारोवार हुनेको अग्रस्थानमा रहँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्