काठमाडौं । सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा गाभिएका छन् । सोमबार देखि दुई कम्पनी गाभिइ नयाँ कम्पनी एलएस क्यापिटलको नाममा मर्चेन्ट बैकिङ कम्पनीका रुपमा एकीकृत कारोबार सुरु भएको हो ।
एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो । सोही अनुसार आज आईतबार देखि आफ्ना ग्राहकहरुलाई थप सशक्त रुपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जानकारी दिएको छ । आईतबार कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकिकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका छन् ।
विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैंकले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आईरहेको र दुई कम्पनी गाभिए पश्चात नवीनतम सेवा सुबिधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको छ । मर्जर पश्चात राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने बिजय लाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् ।
साथै, मर्जर पश्चात कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरुको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरुलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।