Logo

निर्णय उल्ट्याउन लेखा समितिका सदस्यसँग सेटिङ मिलाउँदै सेबोन अध्यक्ष हमाल, हमालको भ्रष्टाचारको साक्षी बस्दै सांसद केसी

निर्णय उल्ट्याउन लेखा समितिका सदस्यसँग सेटिङ मिलाउँदै सेबोन अध्यक्ष हमाल, हमालको भ्रष्टाचारको साक्षी बस्दै सांसद केसी



काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भ्रष्टाचार कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा छानविनका लागि पठाएसँगै त्यसलाई रोक्न दौडधुपमा लागेका छन् ।

अध्यक्ष हमालले प्रिमियम मूल्यमा सेयर जारी गर्न दिँदा ठूलो रकम भ्रष्टाचार गरेको र नियम विपरित अनुमति दिएको भन्दै लेखा समितिमा उजुरी परेको थियो भने सोही अनुरुप समाचार प्रकाशित भएको थियो । सो विषयमा थप अध्ययन गर्दा उनले पदीय दुरुपयोग गरी नीतिगत रुपमै भ्रष्टाचार गरेको देखिएपछि गत हप्ता संसदको लेखा समितिले उनीमाथि अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

अध्यक्ष हमालले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएर उक्त रकम वापत ठूलो रकम लिएर आफ्नो धुलिखेलमा रहेको दुशित थानीको भिल्ला किन्न लगाएको समेत उनीमाथि आरोप छ । हमालले बोर्ड अध्यक्ष हुँदा ठूलो भ्रष्टाचार गरेको तथ्याहरु बाहिर आएपछि लेखा समितिले गत बिहीबार छलफलमा बोलाएकोमा त्यसलाई इन्कार गर्दै उनी अनुपस्थित भएका थिए । सोही कारण समितिले अध्यक्ष हमाल माथि खेदप्रकट गर्दै बैठक शुरु गरेको थियो । हमालले माओवादीबाट प्रतिनिधित्व गर्ने र कांग्रेसको संस्थापन इतरका सांसदलाई आफ्नो पक्षमा बोल्न लगाएका थिए भने सोही अनुरुप सो दिनको बैठक शुरु हुनुपूर्व नै लफडा भएपछि आधा घण्टा धकेलिएको थियो ।

अध्यक्ष हमालले सो दिन आफुमाथि धेरै प्रश्न उठ्ने र कारबाहीको लागि निर्देशन हुने सुईँको पाएपछि आफ्नो पक्षका सांसदलाई उक्त बैठक रोक्न लगाउने एजेण्डा सहित बैठक बहिस्कार गरेका थिए । सोही अनुरुप उनका पक्षमा सांसद राजन केसीले हमालको अनुपस्थितीमा बैठक संचालन गर्न नहुने र सो दिनका लागि स्थगित गर्नुपर्ने भन्दै विरोध गरेका थिए । यसैगरी माओवादीबाट प्रतिनिधित्व गर्ने अमनलाल मोदीले पनि सो दिनका लागि बैठक रोकिनुपर्ने भन्दै विरोध गरेका थिए ।

उनले केही दिन अघि लेखा समितिलाई पत्र लेख्दै आफुले बैंकको बिषयमा बुधबार दिउँसो मात्रै थाहा पाएको र बिहीबार विहान विदेश जाने कार्यक्रम रहेको हुँदा आउन नसकेको भन्दै पत्र लेखेका छन् । उनको पत्रको व्यहोराले नै हमालले जानाजानी बैठकलाई बहिस्कार गरेको देखिन्छ । लेखा समितिले कारवाहीको लागि सिफासिर गरेसँगै अहिले हमालले आफुलाई कारबाहीबाट बचाईदिनु पर्ने र सो वापत आफुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको भन्दै सांसदहरुलाई कन्भिन्स गराउँदै हिडेका छन् । विशेगरी गरी हमालले उक्त बैठकमा आफ्ना विरुद्ध बोल्ने सांसदहरुलाई भेटी आफुलाई उक्त कारबाहीबाट बाईरिन हारगुहार गर्दै हिँडेको सम्बद्ध स्रोतको भनाई छ ।

यसैगरी हमालको भ्रष्टाचारलाई ढाकछोप गर्न समितिका सदस्य सांसद राजन केसीले उक्त निर्णयको विरोधमा माहोल बनाउन समितिका सांसदहरुलाई भेट र फोनमार्फत कन्भिन्स गर्न लागि परेको समेत उक्त स्रोतले जानकारी दिएको छ । ‘बैठकका दिनमा पनि सांसद केसीले हमाललाई तत्काल कारबाहीका लागि सिफारिस गर्न नहुने भन्दै अडान कसेका थिए भने अहिले उक्त निर्णय गलत रहेको र उक्त निर्णय उल्ट्याउनुपर्ने भन्दै लविङमा लागेका छन्,’ एक सांसदले भने, ‘उहाँले मलाई पनि हमाल माथिको कारबाही रोक्नुपर्ने भन्दै फोन गर्नु भएको थियो भने हमालले गरेको भ्रष्टाचारको विरोधमा बोल्ने अन्य धेरै सांसदलाई फोन र भेट गरी विभिन्न आश्वासन दिँदै हिड्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL