Logo

सवारी आयात साढे १६ अर्बले बढ्यो, सहज कर्जा र रेमिट्यान्सले बढायो विक्री

सवारी आयात साढे १६ अर्बले बढ्यो, सहज कर्जा र रेमिट्यान्सले बढायो विक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय अन्य बस्तुको आयात घटेपनि सवारीसाधनको आयात भने उच्च रुपमा बढेको छ । आर्थिक वर्ष २०७२/७३ को मध्यसम्ममा नाकाबन्दीले थलिएको नेपालको अटोबजार पछिल्लो ४ महिनामा ह्वात्तै बढेको छ ।

पछिल्लो ४ महिनाको अवधिमा सवारी आयात झण्डै २६ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आवमा कुल ६६ अर्व २० करोड ५० लाख बराबरको सवारी तथा यसका पाटपूर्जा नेपाल भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६ अर्ब ६८ करोड रुपैयाँले बढी हो । आव २०७१/७२ मा कुल ४९ अर्व ५१ करोड ६५ लाख बराबरको सवारी साधन र यसका पाटपूर्जा आयात भएको थियो ।

विभागको तथ्याङ्क अनुसार नेपालबाट पनि नगन्य मात्रामा सवारीसाधन र त्यसका पार्टपूर्जा निर्यात भएको देखिन्छ । जस अनुसा गत आवमा १ करोड ४६ लाख बराबरको भेइकल तथा एसेसोरिज निर्यात भएको छ । तर, आव २०७१/७२ मा ३ करोड ७ लाख बराबरको निर्यात भएको थियो ।

पछिल्लो समय नेपालीहरुमा निजी सवारीसाधन अति आवश्यकताको बस्तु भएको नेपाल अटोमोवाइल डिलर्श एशोसियशन (नाडा)का अध्यक्ष तथा लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक अञ्जन श्रेष्ठले बताए । ‘नेपालमा सार्वजनिक सवारीसाधनको राम्रो व्यवस्था नभएकाले जनताहरु निजी सवारीसाधन किन्न बाध्य भएका छन्,’ उनले भने, ‘सरकारले सार्वजनिक सवारीसाधनको राम्रो व्यवस्था नगरेसम्म निजी सवारीतर्फको आकर्षण घट्दैन ।’

यसैगरी बजारमा तरलता बढी भएकाले पनि सवारीसाधन विक्री बढेको उनको तर्क छ । तरलता बढेसँगै बैंकले सस्तो व्याजदरमा सहज रुपमा कर्जा उपलब्ध गराउँदै आएका छन्,’ उनले भने, ‘जसले गर्दा विक्री बढी भएको हो ।’ यसैगरी पछिल्लो समय देशमा रेमिट्यान्सको फ्लो बढेकाले पनि सवारीसाधन किन्ने ग्राहक बढ्न गएको छ ।

गत आवमा नयाँ ट्याक्सीको दर्ता खुलेकाले पनि सवारीसाधन विक्री बढी हुन गएको उनको तर्क छ । पछिल्लो समय वार्षिक २५ देखि ३५ प्रतिशतले नेपाली अटोबजार बढिरहेको नाडाले जानकारी दिएको छ ।

नेपालमा भारत, चीन, अमेरिका, जापान, जर्मनी, इटाली, ताइवान, कोरिया, स्वीट्र्जल्याण्डलगायतका मुलुकबाट नेपालमा सवारीसाधन तथा त्यसका पार्टपूर्जा आयात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्