Logo

सेयर बजारमा कालोधनको प्रभाव, क्यासिनोको बाटोमा नेप्से, १० लाखभन्दा कमको कारोवार बढ्यो

सेयर बजारमा कालोधनको प्रभाव, क्यासिनोको बाटोमा नेप्से, १० लाखभन्दा कमको कारोवार बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सेयर बजारमा प्रत्यक्ष रुपमा कालोधनको प्रभाव देखिएको छ । नेपाल धितोपत्र बोर्डले सेयर बजारमार्फत भित्रन सक्ने कालोधनको छानविन गर्न समिति गठन गरेसँगै ओरालो लागेको नेप्से सो समिति खारेज पछि उच्च रुपमा बढेको छ । बोर्डले स्रोत नखुलेको लगानीको छानविन नगर्ने भएपछि गैरकानुनी रुपमा कारोवार गर्नेहरुको मनोवल बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

ल्गातार ८ दिनसम्म दोहोरो अंकमा घटेको नेप्से परिसुचक छानविन गर्न गठित समिति खारेज गरेकै भोलिपल्ट उच्च रुपमा बढ्नु भनेको कालोधनको प्रभाव भएको एक लगानीकर्ताले बताए । ‘छानविन समिति रहुनजेल अर्थात सोमबार बजार ५ प्रतिशतले घटेर साढे २ घण्टामै बन्द भयो,’ ती लगानीकर्ताले भने, ‘तर, छानविन समिति खारजे गरेकै भोलीपल्ट बजार सवा घण्टामै ५ प्रतिशत बढेर बन्द भयो ।’ त्यसैगरी दोस्रो दिन पनि नेप्से १९ अंकभन्दा बढीले उकालो लागेको छ । यसो हुनुको मुख्य कारण नै बजारमा कालोधनको सहज प्रवेश भएको ती लगानीकर्ताको दावी छ ।

प्छिल्लो समय लगानीकर्ताले प्रलोभव देखाएर सेयर खरिदगर्न लगाउने गरेको एक ब्रोकरले नाम नबताउने सर्तमा भने । ‘पछिल्लो समय लगानीकर्ताले सेयर खरिदका लागि करोडौं रुपैयाँ नगद ल्याएर छाडिदिने गरेका छन्,’ त्यस्ता पैसाबाट १० लाख रुपैयाँभन्दा कममा सेयर खरिद गर्न लगाउँछन् ।’ त्यसरी ल्याएको पैसाको एकैपटकभन्दा पनि पटक–पटक गरेर सेयर खरिद गरिदिने गरेको उनको भनाइ छ । १० लाख रुपैयाँभन्दा बढीको खरिदमा सम्पतीशुद्धिकरण विभाग, नेपाल राष्ट्र बैंक, धितोपत्रबोर्डजस्ता नियामक निकायको निगरानी हुने भएकाले उक्त निगरानी बाट बच्नकै लागि सो भन्दा कमको कारोवार बढी हुन थालेको हो ।

१० लाख रुपैयाँभन्दा माथीको कारोवार गर्दा ब्रोकरले फाइनान्सियल इन्फरमेशन युनिटमा जानकारी दिनुपर्ने भएकाले सोभन्दा कमको खरिदविक्री गरेको नेप्सेले जानकारी दिएको छ । ‘ब्रोकरले पहिला पनि १० लाख रुपैयाँभन्दा कमकै कारोवार गरिहेका थिए,’ नेप्सेका एक अधिकरीले भने, ‘तर, पछिल्लो समय सो क्रम अझ बढेको छ ।’ हाल १० लाखभन्दा बढीको कारोवारमा नियाकमले बढी सोधखोज गर्ने भएकाले सोभन्दा कमको सेयर खरिदविक्री गर्न थालेको नेप्सेको भनाइ छ । साथै सोभन्दा कमको कारोवार नगदबाट समेत गर्दै आएका छन् । जसले गर्दा बजारमा सहज रुपमा स्रोत नखुलेको पैसाले प्रवेश पाइरहेको छ । बुधबार पनि नेप्से १९ अंकले बढ्दा २ अर्ब रुपैयाँको सेयर खरिदविक्री भएको छ । आजकै बजार हेर्ने हो भने पनि प्रति ट्रान्जेक्सन २ लाख रुपैयाँभन्दा बढीको खरिदविक्री भएको देखिँदैन ।
पछिल्ला केही दिनको कारोवार हेर्दा नेपालको सेयर बजार क्यासिनोको रुपमा अघि बढेको एक लगानीकर्ताले बताए । अघिल्लो दिन ८८ करोड रुपैयाँको कारोवार भएर ५ प्रतिशतले बढेको नेप्से भोलिपल्टै ५ प्रतिशतले बढाएर कारोवार २९ करोड रुपैयाँमा सिमित पारिएको छ,’ उनले भने, ‘तसर्थ नेपालको स्टक मार्केट क्यासिनोमा जुवा खेलेको जस्तो हुन थालेको छ ।’ बजारमा मार्केट मेकर कम्पनी नआएसम्म नेपालको सेयरबजारले दिगोपना नलिने उनको तर्क छ । यसैगरी पछिल्लो समय सेयर बजारमार्फत ठूलो मात्रामा कालोधन सतो भइसकेको समेत ती लगानीकर्ताको दावी छ । यदि सरकारले सेयर बजारमार्फत भित्रिएको कालोधनको वारेमा अनुसन्धान गर्ने हो भने विगत ५÷६ महिना अघि देखिकै कारोवार छानविन गर्नुपर्ने उनको तर्क छ ।

पछिल्लो समय अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंकजस्ता संस्थाले नेपालमा अवैध लगानी भित्रएको आशंकामा सो सम्बन्धमा निगरानी राख्न आग्रह गर्दै आएका छन् । साथै, नेपालको आर्थिक सुचकहरु नराम्रो भइरहेको अवस्थामा सेयर बजार उच्च रुपमा बढेको भन्दै त्यसमा पनि निगरानी राख्न आग्रह गरेका छन् । यदि आईएमएफ, विश्व बैंकजस्ता संस्थाले नेपालको सेयर बजारमा स्रोत नखुलेको पैसा भित्रिएको अशंकामा त्यसमा कडाइ गरेमा यो क्षेत्र पनि क्यासिनो जस्तै धराशयी हुने सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘यदि नेपालको सेयर बजारलाई दिगो बनाउने हो भने अहिले देखिनै यसमा भित्रन् सक्ने कालोधनलाई रोक्नुपर्छ,’ एक लगानीकर्ताले भने, ‘अन्यथा गैरकानुनी कारोवार गर्ने व्यक्ति फस्टाएर वास्तविक लगानीकर्ता फस्ने डर छ ।’ बोर्डले गठन गरेको छानविन समिति खारेज गर्नु भनेकै सेयर बजारमार्फत भित्रने कालोधनलाई प्रशय दिनु भएको ती लगानीकर्ताको तर्क थियो ।

तर, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भने मंगलबार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका उच्च पदाधिकारीलाई बोलाएर अहिलेको अवस्थामा बजार घट्ने खालका कुनै पनि गतिविधि नगर्न दिर्नेशन दिएका छन् । अहिलेको अवस्थामा बजार लगातार ओरालो लाग्दा सरकारकै आलोचना हुने भन्दै महराले बजार बढाउन सरकार जुनसुकै काम गर्न तयार भएको छलफलमा सहभागी एक अधिकारीले बताए । महराले नियामक निकायलाई लगानीकर्तामा असर पर्ने खालका कुनै पनि काम नगर्न समेत दिर्नेशन दिएका ती अधिकारीले जानकारी दिए ।

सेयर बजार लगानीकर्ताको मनोविज्ञानमा भर पर्ने भएकाले दैनिक जसो उच्च रुपमा तलभाथी भइरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् । ‘केही समय अघिसम्म लगानीकर्तामा त्रासको वातावरण थियो,’ उनले भने, ‘समिति खारेजसँगै खुला भएर लगानीगर्न पाएकाले पनि बजार उच्च रुपमा बढेको हो ।’ तर, ५ प्रतिशतको तलमाथी हुने वित्तिकै बजार बन्द हुने भएकाले पनि बजारको वास्तविक रुप नदेखिएको उनको तर्क थियो । बजार जति घटवढ भएपनि कारोवार समय अधिभर खोल्ने हो भने अहिलेको अवस्था नआउने उनले जानकारी दिए । ‘अहिले ५ प्रतिशतले बढ्दा २९ करोड रुपैयाँको कारोवारमै बजार बन्द हुन्छ,’ उनले भने, ‘दैनिक २ अर्बको कारोवारमा २९ करोडको कारोवारले कसरी बजारको प्रतिनिधित्व गर्छ ।’

प्रतिक्रिया दिनुहोस्