Logo

अर्थमन्त्रीको दवावमा कालोधन छानविन समिति खारेज, बोर्डले आफ्नै तरिकाबाट अनुसन्धान गर्ने

अर्थमन्त्रीको दवावमा कालोधन छानविन समिति खारेज, बोर्डले आफ्नै तरिकाबाट अनुसन्धान गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थ मन्त्रालयको दवाव आएपछि नेपाल धितोपत्र बोर्डले सेयर बजारमार्फत भित्रिरहेको कालोधनको छानविन गर्न गठित समिति नै खारेज गरेको छ । सरकार परिवर्तनसँगै सेयर बजार उच्च रुपमा घट्न थालेपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले तत्काल उक्त समिति खारेज गर्न दिर्नेशन दिएको मन्त्रालयकै एक उच्च अधिकारीले बताए । ‘नयाँ सरकार गठनसँगै दिनहु नेप्से परिसुचक ओरालो लाग्न थाल्यो,’ ती अधिकारीले भने, ‘बजारमा त्यसको सन्देश नराम्रो पर्ने भएकाले मन्त्रालयले समिति नै खारेज गर्न निर्देशन दिएको हो ।’

सेयर बजारमार्फत ठूलो मात्रामा कालोधन भित्रिएको भन्दै बोर्डले झण्डै १ महिना अघि सम्पती शुद्धिकरण सम्बन्धी छानविन समिति गठन गरेको थियो । बजारमा झण्डै २० प्रतिशत रकम बरावरको कालोधन भित्रिएको र जसले बजारमा अनावश्यक रुपमा खेलबाड गरिरहेको भन्दै सो सम्बन्धमा छानविन गर्न बोर्डकै सुपरीवेक्षण तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उसले छानविन शुरु गरे पश्चात बजार उच्च रुपमा घट्न शुरु गरेको थियो । तर, सोमबार एकैपटक बजार ५ प्रतिशतभन्दा बढीले घटेपछि बजारमा सरकारकै बारेमा नकारात्मक टिप्पणी हुने भन्दै अर्थमन्त्रीले तत्काल सो समिति नै खारेज गर्न निर्देशन दिएको स्रोतको भनाइ छ ।

सम्पती शुद्धिकरणका लागि अर्थ मन्त्रालय मातहकै सम्पती शुद्धिकरण विभागलगायत अन्य निकाय भएकोले बोर्डले सो सम्बन्धमा छानविन गर्न नपर्ने मन्त्रालयको तर्क छ । साथै बोर्डले पनि प्रेश विज्ञप्ती जारी गर्दै सम्पती शुद्धिकरण सम्बन्धी विषयमा छानविन गर्न सम्पति शुद्धिकरण ऐन नियम तथा निर्देशिका अनुसार अन्य निकाय भएको भन्दै बोर्डद्वारा गठित समिति खारेज गरिएको उल्लेख गरेको छ ।

तर, समिति खारेज गरेपनि सेयर बजारमार्फत भित्रने कालोधनको विषयमा बार्डले आफ्नै तरिकाबाट छानविन जारी राख्ने बोर्डका एक अधिकारीले बताए । ‘बोर्डको दायित्व भनेको बजारमा भइरहेको गलत कृयाकलापको छानविन गरी लगानीकर्तालाई सुशुच्चित गराउनु हो,’ बोर्ड स्रोतले भन्यो, ‘तसर्थ समिति खारेज भएपनि बजारमा अनावश्यक रुपमा कालोधन भित्रन दिँदैनौं ।’ साथै, बोर्डलाई सेयर बजारमार्फत भित्रने कालोधनको अध्ययन अनुसन्धान गर्ने अधिकार भएकाले सो सम्बन्धमा सुक्ष्म रुपमा छानविन जारी राखिने बोर्ड स्रोतको भनाइ छ ।

यसैगरी, अर्थमन्त्रीले आजै धितोपत्र बोर्ड र नेप्सेका प्रमुखलाई सेयर बजार सम्बन्धी छलफलका लागि बोलाएको मन्त्रालयले जानकारी दिएको छ । विहानै म्युचुअल फण्डवालासँग छलफल कार्यक्रम रहेको र दिउँसो बोर्ड र नेप्सेका पदाधिकारीसँग छलफल कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्