Logo

एफपीओ र मर्जर कर दबाबका बीच उच्च अंकले बढेर बन्द भयो बजार, ५ अर्ब बढीको कारोबार

एफपीओ र मर्जर कर दबाबका बीच उच्च अंकले बढेर बन्द भयो बजार, ५ अर्ब बढीको कारोबार



काठमाडौं । साताको पहिलो दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेर बन्द भएको छ । आईतबार कारोबार सुरु भएको केहि समय उच्च घटेको बजार पछि सम्हालिँदै अन्तिममा २७.७५ अंकले बढ्दै २०२२ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज बजार उच्च बढेसँगै कारोबार रकम पनि उच्च भएको नेप्सेले जानकारी दिएको छ । नेप्सेका अनुसार आज कारोबार अवधिभर २ सय ९५ कम्पनीका १ करोड ७१ लाख ६६ हजार ४ सय ५६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ माथि पुगेको हो । यो रकम पछिल्लो ६ महिनाकै उच्च हो । यसअघि जेठ १४ गते ५ अर्ब बढीको कारोबार भएको थियो ।

परिसुचक र कारोबार उच्च बढेसँगै आज १३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबार भएकामध्ये ५२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ८५ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

सर्वाेच्च अदालतले गत बिहीबार मात्रै १६ वाणिज्य बैंकहरुले दायर गरेको रिट खारेज गरिदिएसँगै एफपीओ र मर्जरको कर मंसिरमै बुझाउनुपर्ने बाध्यता वित्तीय संस्थाहरुलाई आईपरेको । सर्वाेच्चको फैसलाले आईतबार सेयर बजारमा उच्च गिरावट आउने अनुमान गरिएपनि झन बजार उच्च बढेको एक लगानीकर्ताले बताए ।

नेप्सेका अनुसार आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा बढी खरिदविक्री भएको देखिएको छ । आज यो कम्पनीको सेयर २५ करोड १२ लाख रुपैयाँ बढीको हुँदा सोनापुर मिनेरल्सको सेयर १६ करोड ६५ लाख रुपैयाँ बराबरको भएको छ । यस्तै आज शिवम सिमेन्टको १४ करोड र अरुण कावेली पावर लिमिटेडको १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका बैंकिङ, म्युचुअल फण्ड र ट्रेडिङ समुहबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL