Logo

सामाजिक संजालमा सेयर बजारबारे अनर्गल अन्तर्वार्ता नदिन बोर्डको निर्देशन, कारबाही गर्ने चेतावनी

सामाजिक संजालमा सेयर बजारबारे अनर्गल अन्तर्वार्ता नदिन बोर्डको निर्देशन, कारबाही गर्ने चेतावनी



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुनै व्यक्ति वा संस्थाले कुनै निश्चित कम्पनीको सेयरमूल्य बढ्ने वा घट्ने भन्दै अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न संचार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउस् जस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै प्रचार नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय यस्ता सामाजिक संजालमा निश्चित सेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा बोर्डमा गुनासो तथा उजुरीहरु प्राप्त भएको बोर्डले जानकारी दिएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने बाेर्डले जानकारी दिएकाे छ ।

संचारमाध्यम तथासामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्व रोक्न आग्रह गरेको हो ।

सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाईएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने बोर्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL