Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पौने ३ अर्ब नजिक

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पौने ३ अर्ब नजिक



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सुधार देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.७३ अंकले बढ्दै १८ सय ५२.७७ को विन्दुमा पुगेर बन्द भएको हो । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से यो हप्ताको पछिल्लो २ दिन भने उकालो लागेको हो ।

आज कारोबार अवधिभर २ सय ९९ कम्पनीका ९५ लाख ५ हजार ६ सय ८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ माथि पुगेको छ । यसरी आज एकाएक २ महिनापछि कारोबार रकममा पनि सुधार देखिएको छ । यसअघि गएको असोज ८ मा मात्रै ३ अर्ब बढीको कारोबार भएको थियो । त्यसयता कारोबार रकम २ अर्ब २२ करोड माथि पुगेको थिएन ।

आज खासगरी नेपाल रिइन्स्योरेन्स कम्पनीको कारोबार सबैभन्दा बढी भएको छ । नेप्सेका अनुसार आज यो कम्पनीको मात्रै ८६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसरी यो कम्पनीको मात्रै बढी कारोबार हुँदा पनि आज कारोबार रकम पछिल्लो २ महिनाकै उच्च विन्दुमा पुगेको हो ।

आज १ सय ७५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ५७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज बजारमा कारोबार भएका समुहमध्ये व्यापारबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्