काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीले मंसिर १६ गते (शनिबार) सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
कम्पनीले उक्त निर्णय नेप्सेलाई आइतबार बेलुका ५–१५ बजे मात्र जानकारी गराएपछि कारवाही गरेको हो । सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।