Logo

धितोपत्र बोर्ड कर्मचारी संगठनको निष्कर्ष : बोर्डमा स्वार्थ समुह र विचौलियाको प्रभाव बढ्यो, जोगाउन सरोकारवालासँग आग्रह

धितोपत्र बोर्ड कर्मचारी संगठनको निष्कर्ष : बोर्डमा स्वार्थ समुह र विचौलियाको प्रभाव बढ्यो, जोगाउन सरोकारवालासँग आग्रह



काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले बोर्डलाई व्यापारीक स्वार्थ समूह तथा तिनका बिचौलियाहरुको प्रभावबाट जोगाई र कर्मचारीको पेशागत हकहितको सुरक्षा गर्न सम्बद्ध पक्षसँग अपिल गरेको छ । बोर्डको काम कारबाहीमा पछिल्लो समय विचौलियाको प्रभाव बढेको र यसबाट पुँजी बजारको संरक्षण हुन नसक्ने भन्दै लगानीकर्ताको हकहित संरक्षण, स्वच्छ र पारदर्शी बजार निर्माण गर्ने वाताववरण बनाउन सम्बद्ध सरोकारवालासँग आग्रह गरेका छन् ।

‘नेपाल धितोपत्र बोर्ड नेपालको पुँजीबजार तथा बस्तु विनिमय बजारको नियामक निकायको रुपमा नेपाल सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हो,’ विज्ञप्तीमा भनिएको छ, ‘ धितोपत्रको सार्वजनिक निष्कासन तथा अनुमतिको सम्बन्धमा बारम्बार विवादास्पद समाचारहरु पढ्न र सुन्नु पर्दा हामी मर्माहित छौ भने यसले बोर्डको स्थायी संयन्त्रको रुपमा रहेका कर्मचारीहरुमा भय र त्रासको वातावरण सीर्जना भएको महसुस भएको छ ।’

साथै संबैधानिक अंग र विषयगत संसदीय समितिहरुबाट बारम्बार प्रश्न चिन्ह उठने गरी काम भएको भन्ने आरोपले समेत त्राहिमाम बनेको र यसबाट बोर्डप्रति नै गम्भिर प्रश्न खडा भएको संकठनको ठहर छ । साथै पछिल्लो समय विभिन्न संचार माध्यममा बोर्ड र बोर्ड नेतृत्व बदनाम हुने गरी विभिन्न समाचारहरु आउँदा बोर्डबाट सोको स्पष्ट खण्डन हुन नसक्नु लजास्पद भएको समेत विज्ञप्तीमा उल्लेख छ ।

बजार निरन्तर ओरालोलागेको तथा अर्थतन्त्रका अधिकांश सूचक सन्तोषजनक नरहेको विषम परिस्थितिमा बोर्ड एवं बोर्ड नेतृत्वप्रति व्यपारीक स्वार्थ समूह हावी भएको भन्ने खालका आरोपको सम्बन्धमा समेत कर्मचारी संगठनले गम्भीर ध्यानाकर्षण गराएको छ । साथै अहिलेको अवस्थामा पूँजीबजार शुद्धिकरणको महाअभियानमार्फत सत्यतथ्य जाँचबुझ गरी बोर्डको गरिमा र स्वायत्तता कायम जोगाईराख्न समेत कर्मचारी संगठनले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL