Logo

मर्जर सिनर्जीमा असफल हुँदै प्रभुमहालक्ष्मी, सेबोनको अड्चन र सीईओको गैरजिम्मेवारीले ४ महिनामा पनि सूचीकृत भएन सेयर

मर्जर सिनर्जीमा असफल हुँदै प्रभुमहालक्ष्मी, सेबोनको अड्चन र सीईओको गैरजिम्मेवारीले ४ महिनामा पनि सूचीकृत भएन सेयर



काठमाडौं । कम्पनी व्यवस्थापकको गैरजिम्मेवारीले सर्वसाधारण लगानीकर्ताको सम्पती कसरी बन्धक बन्छ भन्ने उदाहरण प्रभुमहालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले दिएको छ । मर्जर तथा एक्विजिशन पश्चात एकिकृत कारोबार भएको १५ दिनभित्र सेयर सुचिकृत गरेर दोस्रो बजारमा कारोबार गर्नुपर्ने भएपनि सो कम्पनीले एकिकृत कारोबार भएको ४ महिना वितिसक्दा पनि सेयर सुचिकृत गर्न सकेको छैन ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धि निर्देशिका, २०७९’ जारी गर्दैै मर्जरमा गएका कम्पनीहरुको सेयर कारोबार रोक्का नहुने तर, दुवै कम्पनी मर्जरमा गई एकिकृत कारोबार भएपछिको सेयर मिलान नहुँदासम्म अर्थात १५ दिनसम्म मात्र सेयर कारोबार रोक्का हुने व्यवस्था गरेको थियो । तर प्रभुमहालक्ष्मीले भने एकिकृत कारोबार भएको ४ महिना वितिसक्दा सिन सेयर सुचिकृत नगराई सर्वसाधारण लगानीकर्ताको सम्पती बन्धक बनाएर राखिदिएको छ ।

दुबै संस्थाबीच मर्जर हुँदा प्रभु लाईफले सर्वसाधारणलाई सेयर जारी गरिसकेको थियो भने महालक्ष्मी लाईफले सर्वसाधारणलाई सेयर जारी गरेको थिएन । मर्जर भएको लामो समयसम्म पनि प्रभुमहालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सेयर सुचिकृत गराउन नसक्दा सर्वसाधारण लगानीकर्ताको सम्पती बन्धक भएर बसेको हो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । जसमध्ये तत्कालिन प्रभु लाईफका सर्वसाधारण लगानीकर्ताले आईपीओमार्फत खरिद गरेको करिव ६५ करोड रुपैयाँ बराबरको सेयर बन्धक भएर बसेको हो ।

यसैगरी उक्त कम्पनीको मर्जर पछिल्लो सिनर्जी गेनमा पनि ज्यादै कमजोर देखिएको छ । बीमा कोषको हिसावले हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये १३ औं स्थानमा रहेको छ । हाल कम्पनीको बीमा कोष ७ अर्ब ६८ करोड रुपैयाँ मात्रै रहेको छ । जुन नयाँ खुलेका र मर्जरमा नगएका अन्यव जीवन बीमा कम्पनीको भन्दा पनि कम हो । प्रभुमहालक्ष्मीमा व्यवस्थापकीय कमजोरीका कारण हालसम्म सेयर सुचिकृत हुन नसकी सर्वसधारणको लगानी बन्धक हुनुका साथै व्यवसाय समेत विस्तार गर्न नसकेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘कम्पनी कस्तो बनाउने र कसरी संचालन गर्ने भन्ने विषय कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यशैलीमा भर पर्छ,’ एक लगानीकर्ताले भने, ‘तर कम्पनीका सीईओ भट्टराईले कुशलतापूर्वक व्यवस्थापकीय जिम्मेवारी सम्हाल्न नसक्दा सेयरधनीको सम्पती बन्धक रहनुका साथै लगानीकर्ताले पाउने लाभांश पनि घट्दो अवस्थामा छ ।’

यता सेयर सूचिकृत गराउने निकाय नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) भने आफुहरु यस विषयमा अनभिज्ञ रहेको बताउँछ । ‘कुनै पनि कम्पनीको कागजात पुगेर आएको अवस्थामा नेप्सेले तत्काल सेयर सूचिकृत गरिदिन्छ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्, ‘तर के भएर हालसम्म सूचिकृत नभएको हो यस विषयमा थप बुझ्नुपर्ने छ ।’ लामो समयसम्म सर्वसधारणको सम्पती बन्धक भएर बस्दा पनि नेप्सेले सो विषयमा ताकेता नगर्नु आफैमा अर्को गैरजिम्मेवारी काम भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यस्तै कम्पनीको सुचना अधिकारी कमल पन्थीले भने आफुहरुले धितोपत्र बोर्डमा नियम अनुसार पैसा तिरेर सबै कागजात पेश गरिसकेको तर धितोपत्र बोर्डले विभिन्न बाहानामा अड्काएर राखेको बताए । ‘प्रभुमहालक्ष्मीको सेयर कारोबार खुला गर्न नदिएर सेबोनले नै बन्दक बनाएर राख्ने काम गरेको छ,’ उनले भने, ‘हामीले धेरै पटक सेयर कारोबार खुलाउनका लागि अनुमति दिन माग गर्दै आएका छौं तर अहिलेसम्म अनुमति नै दिएको छैन ।’

तर नेपाल धितोपत्र बोर्डको सूचना अधिकारी तेजप्रसाद देवकोटा भने कम्पनी मर्जर भएपश्चात सेयर कारोबार खुला गर्न तथा सुचिकृतका लागि सेबोनमा आउन नपर्ने बताए । ‘सेयर सुचिकृत गर्ने निकाय नेप्से हो,’ उनले भने, ‘अहिलेसम्म सेयर किन सुचिकृत भएन त्यसो विषय नेप्से र सम्बन्धित कम्पनीको हो यसका सेबोनको कुनै सरोकार हुँदैन ।’ तर कुनै पनि कम्पनी मर्जर भएपश्चात सेबोनबाट सेयर खुलाको लागि स्वीकृति लिएर मात्रै नेप्सेमा कारोबारको लागि नेप्सेमा दर्ता गराउनु पर्छ । तर हालसम्म प्रभुमहालक्ष्मी लाईफले भने सेबोनबाटै स्वीकृति लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्