काठमाडौं । एक व्यक्तिले गैरजिम्मेवारीपूर्ण काम गर्दा त्यसले लाखौं व्यक्तिलाई कसरी असर गर्छ भन्ने गतिलो उदाहरण धितोपत्र बोर्डको कार्यले देखाएको छ । बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो व्यक्तिगत स्वार्थमा हचुवाको भरमा प्रिमियममूल्यमा जथाभावी रुपमा आईपीओ जारी गर्न दिँदा अहिले सेयर बजारका लाखौं लगानीकर्ता मारमा परेका छन् ।
विशेषगरी धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएका कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएपछि त्यसले समग्र सेयर बजारलाई नै असर पुर्र्याएको छ । ‘नेपालको सेयर बजारको इतिहासमा पहिलो पटक सोनापुर सिमेन्टको आईपीओ जारी गरेर दोस्रो बजारमा कारोबारमा आएपछि लगातार तीन पटकसम्म मूल्यमा नेगेटिभ सर्किट लागेर रेकर्ड राख्यो भने आईपीओ भर्ने लगानीकर्ताले उक्त मूल्यमा पनि स्टपलस गर्नुपर्ने अवस्था सिर्जना भयो,’ एक लगानीकर्ताले भने, ‘धितोपत्र बोर्डले कम्पनीसँगको मिलेमत्तोमा निहित स्वार्थमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएकै कारण आईपीओमा समेत स्टपलस गर्नुपर्ने अवस्था सिर्जना भयो ।’ बोर्डले प्रतिकित्ता २३७.५८ मा आईपीओ जारी गर्न स्वीकृति दिएकोमा ३५० रुपैयाँमा कारोबार खुलेर ५ दिनमै २३० रुपैयाँमा झरेको छ ।
यसैगरी बोर्डले घोराही सिमेन्टलाई पनि मिलेमतोमै उच्च प्रिमियम जोडेर आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । उक्त मूल्यमा आईपीओ बिक्री नहुने भएपछि जालसाजी गरेर एउटै व्यक्तिले १० लाख कित्ताभन्दा बढी आवेदन दिएर बढी सप्लाई देखाइयो । त्यसमा पब्लिक प्रेसर परेपछि सेबोनले आईपीओ बिक्री गर्न रोक लगाएर छानविन अघि बढाएको थियो । तर, सेबोनका अध्यक्ष हमालले कम्पनीसँग बार्गेनिङ गरेर विना छानविन पुनः सोही मूल्यमा आईपीओ बिक्री गर्न अनुमति दिएका थिए । बोर्डले आर्थिक चलखेलका आधारमा कागजात मिलाएर उच्च प्रिमियम मूल्य जोडेर आईपीओ जारी गर्न दिएकै कारण सो कम्पनीमा पनि आईपीओ मूल्यमा स्टपलस गर्नुपर्ने अवस्था आयो ।
‘घोराही सिमेन्टमा समस्या भएपछि अध्यक्षज्यूले आईपीओ प्रक्रिया नै रोकेर छाननिव गर्छु भन्नुभएको थियो र सोहीअनुरुप हामी पनि अघि बढ्यौं,’ बोर्डका एक संचालकले भने, ‘तर तत्कालीन समयमा अध्यक्षज्यूले दिउँसो आफुखुशी पुनः आईपीओ बिक्री गर्न अनुमति दिएर दबाब छल्नका लागि बेलुका युरोप भ्रमणमा निष्कनुभयो ।’ बोर्डले पछिल्लो समय गर्ने हरेक निर्णयमा अध्यक्ष एकल हावी हुन थालेपछि बिकृति बढेको समेत ती संचालकले जानकारी दिए ।
बोर्ड अध्यक्षले हमालले निहित स्वार्थमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिँदा अहिले त्यस्ता कम्पनीको बोनस वितरण गर्ने आधार नै प्रिमियबाट संकलिन रकम भएको छ । कम्पनीले आफ्नो व्यवसायबाट आम्दानी नगरेपनि प्रिमियमबाट संकलित रकमबाट बोनस वितरणको तयारी गरिरहेका छन् । ‘अहिले विश्वका कुनै पनि देशमा प्रिमियम भन्ने छैन कि नर्मल तरिकाबाट आईपीओ जारी गर्नुपर्छ कि त बुकबिल्डिङ,’ एक ठूला लगानीकर्ताले भने, ‘बुकविल्डिङबाट र्आइपीओ जारीगर्दा बार्गेनिङ पावर कम हुने भएपछि सेबोनले प्रिमियमलाई प्राथमिकता दिएको छ ।’
जसका कारण यसअघि प्रिमियम मूल्यमा आईपीओ जारी गरेका इन्स्योरेन्स कम्पनीदेखि जलविद्युत कम्पनीको सेयर मूल्य ओपनिङ मूल्यभन्दा धेरै तल झरिसकेको छ । यसरी बोर्डले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिँदा एकातर्फ लगानीकर्ता फस्ने काम भैरहेको छ भने अर्कोतर्फ त्यसबापत सरकारले समेत ठूलो रकम राजस्व गुमाउँदै आएको छ ।
साथै पछिल्लो समय हमालले व्यक्तिगत स्वार्थमा लिक्विडेशनमा जान लागेको कम्पनीलाई समेत मोलमोलाईमा आईपीओ जारी गरेर सर्वसाधारण जनताको पैसा लुट्ने काम गरेको समेत ती लगानीकर्ताले जानकारी दिए । ‘नेपालमा अहिले आईपीओ भन्ने वित्तिकै भरिहाल्नुपर्छ यो त सुनकै अण्डा हो भन्ने मानसिकता मौलाएको छ,’ ती लगानीकर्ताले भने, ‘धितोपत्र बोर्डले त्यसैलाई दुरुपयोग गर्दै उच्च घाटामा रहेर लिक्विडेशनमा जान लागेका कम्पनीलाई पनि विनाआधार आईपीओ जारी गर्न दिएर जनता लुट्ने काम गर्दै आएको छ ।’ साथै पछिल्लो समय छोटो समयमा बढी असुली गर्ने उद्देश्यले रिभ्यालुएशन गरेको रकमलाई पनि नेटवर्थमा गणना गरेर आईपीओ निष्काशन तथा २ वर्षमै प्रिमियम मूल्यमा आईपीओ जारी गर्न मिल्ने गरी कानून संशोधन गरे नीतिगत भ्रष्टाचार गरेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।