Logo

ब्रोकर कमिसन घट्ने खबरले सेयर बजारमा सकारात्मक माहोल, नेप्से ४३.२७ अंकले बढ्यो

ब्रोकर कमिसन घट्ने खबरले सेयर बजारमा सकारात्मक माहोल, नेप्से ४३.२७ अंकले बढ्यो



काठमाडौं । साताको चौथौ कारोबार दिन बुधबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेपाल धितोपत्र बोर्डको ब्रोकर कमिसन घटाउने निर्णयले सेयर बजारमा उत्साह देखिएको छ ।

बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४३.२७ अंकले बढेर १ हजार ९ सय ७.८९ बिन्दुमा उक्लिएको छ । मंगलबार पनि सेयर बजार १३ अंकको हाराहारीमा बढेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार सेयर कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ । बुधबार ९३ करोड ४८ लाख ९४ हजार २ सय १८ रुपैयाँमात्र सेयर कारोबार भएको छ । मंगलबार १ अर्ब ८४ लाख रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार वाणिज्य बैंक तथा विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर कात्तिक महिनाको लागि घटाउने निर्णय गरेका छन । जसको कारण पनि सेयर बजारमा उत्साह देखिएको छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदा कर्जाको ब्याजदर पनि घट्दै जाने भएको कारण त्यसको सकारात्मक असर सेयर बजारमा देखिएको छ ।

मंगलबार २ सय ८६ कम्पनीको ३७ लाख ७३ हजार २३ कित्ता सेयर ३१ हजार ७ सय ८८ पटक कारोबार भएको छ । आज कारोबारमा आएको २ सय २३ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य घटेको छ भने, ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज कारोबारमा आएको १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी उपसमूहको सेयर कारोबार भएको छ । यस कम्पनीको सेयर आज २.८६ प्रतिशतले बढेको छ । यसैगरी, वाणिज्य बैक उपसमूहको सेयर मूल्य २.४६ प्रतिशत बढेको छ भने, विकास बैंक उपसमूहको सेयर मूल्य पनि २.७४ प्रतशितले बढेको नेप्सेले जानकारी दिएको छ ।

बुधबार ४ करोड ४६ लाख रुपैयाँसहित कारोबार रकममा सानिमा जीआइसी इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक संस्थापक र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL