Logo

सेयर बजारमार्फत भित्रिएको कालोधन छानविन शुरु, २० प्रतिशत अबैध रकम रहेको आशंका

सेयर बजारमार्फत भित्रिएको कालोधन छानविन शुरु, २० प्रतिशत अबैध रकम रहेको आशंका


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सेयर बजारमा कालोधन भित्रिएको आशंकामा छानविन गर्न नेपाल धितोपत्र बोर्डले छानविन कमिटि गठन गरेको छ । बोर्डको सुपरीवेक्षण तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा छानविन कमिटि गठन गरिएको हो ।

बोर्डको अघिल्लो हप्ताको शुक्रबार बसेको संचालक समितिको बैठकले सेयर बजारमा भैरहेको अवैध कारोवारको छानविन गर्न कमिटि गठन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बोर्डले बिहिबार कार्यकारी निर्देशक पौडेलको संयोजकत्वमा छानविन कमिटि गठन गरेको हो ।

पौडेलको संयोजकत्वमा गठिन कमिटिमा कानुन विभागका १, सुपरीवेक्षण विभागका २ र नियमन विभागका १ जना निर्देशक रहने छन् । उनीहरुले सेयर बजारमा भैरहेको अबैध कारोवार, सेयर बजारमार्फत भित्रने कालोधनजस्ता विषयमा छानविन गर्ने छ ।

अध्ययन अनुसन्धानलाई प्रभावकारी बनाउन उक्त कमिटिमा आवश्यकता अनुसार नेपाल सरकार, अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धाग विभाग र अन्य विज्ञहरु समेतलाई आमन्त्रण गरिने भएको छ । साथै उक्त कमिटिले सेयर बजारमा भइरहेको कारोवारको अध्ययन अनुसन्धान गरी १ महिनाभित्रै प्रतिवेदन बुझाउनु पर्ने छ । सेयर बजारमा भैरहेको लगानीको सम्बन्धमा छानविन गर्न बनेको यो हालसम्मकै शक्तिशाली कमिटि हो । जुन कमिटिले सवै कारोवारको स्थलगत अध्ययन अनुसन्धान गरी गलत भेटिएमा कारवाही प्रक्रिया अघि बढाउन सक्ने छ ।

हाल बजारमा झण्डै २० प्रतिशतजति कालोधन भित्रिएको बोर्डको अनुमान छ । जसले गर्दा नै बजारमा ठूलो मात्रामा सेयर कारोवार भइरहेको बोर्डका एक अधिकारीले जानकारी दिए ।  यदि सेयर बजारमा भैरहेको अबैध कारोवार र जथाभावी भित्रिएको कालोधन रोक्ने हो भने पनि हाल अस्वभाविक रुपमा बृद्धि भइरहेको सेयर बजार आफसेआफ रोकिने बोर्डको तर्क छ ।

नेपाल राष्ट्र बैंकले भर्खरै मात्र सार्वजनिक गरेको आर्थिक वर्ष ३०७३÷७४ को मौद्रिक नीतिले पनि मार्जिन लेण्डिङमा कडाइ गरेको छ । जसले गर्दा बजारमा अझ बढी प्रभाव पर्ने सरोकारवालाहरु बताउँछन् । नीतिले अवका दिनमा ५० प्रतिशत मात्र मार्जिन लेण्डिङ गर्न पाउने व्यवस्था गरेको छ । जसले गर्दा अघि प्रवाह भएको मार्जिनमा पनि बैंक वित्तीय संस्थाले १५ प्रतिशत थप गर्न लगाउनुपर्ने हुन्छ । जसको प्रत्यक्ष असर सेयर बजारमा पर्ने देखिन्छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा कुलकर्जा प्रवाहको २ प्रतिशतमात्र सेयरमा लगानी भएको  विवरण बुझाएपनि राष्ट्र बैंकको फितलो अनुगमनका कारण अन्य क्षेत्रमा प्रवाहित कर्जा समेत सेयर बजारमा लगानी भएको आशंका गरिएको छ । बोर्डले सो सम्बन्धमा पनि छानविन गर्ने भएको छ । पहिलो चरणमा बोर्ड आफैले छानविन गर्ने र आवश्यक परेमा अन्य निकायलाई पनि संलग्न गराइने बार्ड स्रोतले जानकारी दिएको छ ।

अघिल्लो सातादेखि बोर्डले सेयर बजारमार्फत कालोधन भित्रन थालेको आशंका र दवाव बढेपछि स्थलगत निरीक्षण समेत शुरु गरेको छ । उक्त स्थलगत सुपरीवेक्षणको प्रारम्भिक रिपोर्ट अनुसार सेयरको अवैधानिक कारोवार समेत हुने गरेको पाइएको छ । बोर्ड सुत्रका अनुसार विगत ४÷५ वर्ष अघिदेखिको लेखापरीक्षण नभएका कम्पनीमा समेत लगानीकर्ताहरुले अन्धाधुन्द सेयरमा लगानी गरिरहेको भेटिएको छ । तर, नेपाल स्टक एक्सचेञ्जले त्यस्ता कम्पनीको सूचिकरण खारेज समेत नगरेको र कारोवार भइरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्