काठमाडौं । दिनभर उत्तरचढाव भएको नेप्से परिसुचक अन्तमा घटेको छ । बजार खुलेको केही समय बढेको नेप्से परिसुचक मध्य भागमा आएर उच्च रुपमा घटेको थियो । पुन लयमा फकिएको नेप्से परिसुचक अन्तमा २ दशमलव ६२ अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसुचक १ हजार ६ सय ९० दशमलव ४३ अंकमा झरेर अडिएको छ ।
बजारमा प्रभाव पार्ने प्रायजसो समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये बीमा समुह सवैभन्दा बढी ८९ अंकले घटेको छ भने विकास बैंक समुह ११ अंकले ओरालो लागेको छ । यसैगरी बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ् समुहको परिसुचक पनि ४ अंकले घट्न गएको छ ।
बजारमा होटल, अन्य र उत्पादनमुलक समुहको परिसुचक भने उकालो लागेका छन् । बुधबार तारागाउँ रिजेन्सी होटलको कारोवार बढ्दा समग्र होटल समुहको परिसुचक उकालो लागेको हो । बजारमा तारागाउँको मात्र १८ लाख ४९ हजार रुपैयाँ बरावरको ७ लाख २२ हजार कित्ता सेयर कारोवार भएको छ । सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले बढेर अन्तमा २ सय ५६ मा बन्द भएको छ ।
बुधबार नेप्से परिसुचक ओरालो लाग्नुका साथै कारोवार रकम समेत खुम्चन गएको छ । दिनभर १ अर्ब ९ करोड रुपैयाँ बरावरको मात्र सेयर कारोवार भएको छ । जसमा १ सय ४३ कम्पनीको १९ लाख ६६ हजार कित्ता सेयर कारोवार भएको छ ।