Logo

राष्ट्र बैंकले ल्याउने हरेक नीतिमा सरकारले हस्तक्षेप गर्न मिल्दैन : अर्थमन्त्री डा‍. महत

राष्ट्र बैंकले ल्याउने हरेक नीतिमा सरकारले हस्तक्षेप गर्न मिल्दैन : अर्थमन्त्री डा‍. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्र बैंकका हरेक नीतिमा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । मंगलबार नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्र बैंकले ल्याउन हरेकजसो निर्देशनका बुँदाहरुमा संशोधन गर्न निर्देशन दिन नमिल्ने बताएका हुन् ।

‘हो नियामकिय निकायहरुले ल्याउने निर्देशन र नीतिहरुमा विशेषगरी सेयर बजार र बैंक कर्जासम्बन्धी केहि समस्या हरु होलान, यसले निजी क्षेत्रलाई असर पनि पारेको होला,’ उनले भने, ‘तर सबै प्रकारका बुँदाहरु संशोधन गर्न निर्देशन दिन सरकारले पनि मिल्दैन ।’

यद्यपी सम्बन्धित निकायहरुले निजी क्षेत्रका सुझावहरुको पनि सुनुवाई हुनेगरी नीति निर्माण गर्नुपर्ने उनले बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएसँगै सकारात्मक बाटोतर्फ अर्थतन्त्र लम्किरहेको बताएका छन् ।

उनले अब अर्थतन्त्र डामाडोल बन्ने अवस्थामा पुग्ने, श्रीलंका नै हुने अवस्थामा पुग्योलगायत कुराहरु सोचेर चिन्ता गर्न नपर्ने बताएका छन् । यस्तै उनले सवरीसाधन विक्रेताहरुलाई अब नेपालमै सवारीसाधन उत्पादन गर्नेतर्फ उन्मुख हुन आग्रह गरेका छन् ।

‘पछिल्लो समय हरेक गल्लीमा डिलरहरु भेटिन थालेका छन, यस्ता डिलरका एसोसिएसन पनि धेरै रहेछन,’ उनले भने, ‘अब यस्ता एशोसिएसनहरुलाई उत्पादक एसोसिएसनमा बदल्नुहोस, यसको नीति निर्माणमा सरकारले सहयोग गर्छ ।’

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नियमनकारी निकायले निजी क्षेत्रसँग राम्रोसँग सहकार्य र समन्वय नै नगरी नीति निर्माण गर्न थालेको गुनासाे गरेका छन् । पछिल्लो समय राष्ट्र बैंकलगायतका निकायले श्रीलंकाको त्रास देखाएर निजी क्षेत्रलाई पेल्नेगरी नीति निर्माण गरेको उनको भनाई छ । उनले नेपालको अर्थतन्त्रलाई नै निजी क्षेत्रले हाँकेकाले सरकारले निजी क्षेत्रलाई कम आँक्न नहुने बताएका छन् ।

यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेश कुमार अग्रवालले अहिलेकै नीतिले सरकारले लिएको लक्ष्यअनुसार राजश्व नउठ्ने बताएका छन् । सरकारले लिएको लक्ष्यअनुसार राजस्व उठाउन नीति परिवर्तन गर्नैपर्ने उनको भनाई थियो ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाडा अटो शो ले मन्दीतर्फ गएको अर्थतन्त्रलाई केहि राहत दिलाएको बताएका छन् । पछिल्लो समय अर्थतन्त्रलाई देखाएर नैराश्यता मात्रै सिर्जना भईरहेकोमा यो शो ले केहि आशा जगाएको उनको भनाई थियो । उनले पनि नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी निर्देशिका र बैंकहरुका लागि जारी गरेको निर्देशिकाले उद्योगी व्यवसायीलाई झन अप्ठ्यारो पारेकाे बताएका हुन् । राष्ट्र बैंकले अस्पष्ट नीति ल्याएर निजी क्षेत्रलाई दुख दिएको उनको भनाई छ ।
कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले भने सवारीसाधनलाई पनि नेपालमा अत्यावश्यक वस्तुमा वर्गीकरण गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै उनले नेपालमा पनि सवारीसाधन अब अत्यावश्यक वस्तु भएको भन्दै यसलाई अति आवश्यक वस्तुमा वर्गीकरण गर्नुपर्ने बताएका हुन् । यस्तै उनले कार्यक्रममा प्रदर्शनीस्थलको आवश्यकता, राष्ट्र बैंकको नीतिमा परिवर्तन गर्नुपर्ने, विद्युतीय सवारीसाधन आयात गर्दा गुणस्तर हेर्नुपर्ने, हायर पर्चेज कर्जाको जोखिम भार गणना घटाउनुपर्नेलगायतका सुझावहरु राखेका थिए ।
भृकुटीमण्डपको प्रदर्शनीमार्गमा आजदेखि नाडा अटो शो सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्