Logo

ब्रोकरलाई कडाई गर्दै नेप्सेले गर्यो विनियमावली संशोधन, थपियो सदस्यता शुल्कदेखि निलम्बनसम्म (नियमावलीको पूर्णपाठ सहित)

ब्रोकरलाई कडाई गर्दै नेप्सेले गर्यो विनियमावली संशोधन, थपियो सदस्यता शुल्कदेखि निलम्बनसम्म (नियमावलीको पूर्णपाठ सहित)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधन गरेको छ । नेप्सेले धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ संशोधन गरेको हो ।

संशोधनमा नेप्सेले बिभिन्न विनियम र उपविनियमहरु पविर्तन गरेको छ । यसैगरी, नेप्सेले उक्त विनियमावलीमा पुराना केहि व्यवस्थाहरु परिमार्जन गरेर नयाँ व्यवस्था थपेको छ । ‘ब्रोकरको पुरानो विनियमावली पुरानो शैलीको थियो ।’ नेप्सेका एक अधिकारीले भने, ‘अहिले धितोपत्र कारोबारमा सबै कुराहरु परिवर्तन भइसकेको छ । यसकारण टेक्नोलोजी बेसमा नेप्सेले यो विनियमावलि परिवर्तन गरेको छ ।’

नेप्सेले नियमावलीमा सदस्यहरुले बुझाउनुपर्ने शुल्क पनि बढाएको छ । अब धितोपत्र दलालको सिफारिस शुल्क १५ हजार दिनुपर्ने व्यवस्था भएको छ । यसैगरी, निवेदन शुल्क २५ हजार, सदस्यता शुल्क सीमित दलाल सेवाका लागि १ लाख र पूर्ण दलाल सेवाका लागि १ लाख ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । धितोपत्र व्यापारीहरुको सिफारिस शुल्क २५ हजार, निवेदन शुल्क ५० हजार र सदस्यता शुल्क ५ लाख रुपैयाँ तोकिएको छ । शाखा कार्यालय लगइनका लागि पनि ब्रोकर तथा धितोपत्र व्यापारीले नेप्सेलाई शुल्क बुझाउनुपर्ने विनियमावलीमा उल्लेख छ ।

यसका लागि निवेदन शुल्क ब्रोकरका लागि १५ हजार र धितोपत्र व्यापारीका लागि ३० हजार रुपैयाँ तोकिएको छ । पूर्वाधार विकास शुल्कबापत सीमित काम गर्ने ब्रोकरले २५ लाख, पूर्ण कार्य गर्नेले ५० लाख तथा व्यापारीले ७५ लाख बुझाउनु पर्छ । यी सबै शुल्कहरु पहिलोपटक सदस्यता लिँदा मात्र बुझाउनु पर्नेछ । वार्षिक नवीकरण शुल्क ब्रोकर कम्पनीका लागि सीमित सेवा गर्नेका हकमा ५० हजार र पूर्ण सेवा गर्नेका हकमा १ लाख तथा व्यापारीका लागि ३ लाख रुपैयाँ तोकिएको छ ।

नेप्सेले उक्त विनियमावली संशोधन गरेर नेपाल धितोपत्र बोर्डमा पठाएको छ । उक्त विनियमावली बोर्डबाट स्वीकृत भएर आएपछि नेप्सेले कार्यन्वयनमा ल्याउने नेप्सेका ती अधिकारीले बताए । ‘हामीले उक्त विनियमावली संशोधन गरेर एक महिना अगाडी नै धितोपत्र बोर्डमा पठाएका छौं । हामीले पठाएको उक्त विनियमावलीमा थप संशोधनको आवश्यकता परेका त्यसलाई बोर्डले छाटकाट गर्ने छ ।’ नेप्सेका अधिकारी भन्छन् ।

के छ विनियमावलीमा ? पुर्ण पाठसहितः

नेप्सेले अनुसूची–८ सदस्य व्यवसायीहरुले खरिद विक्रीका लागि अंकित गरेको वा सम्पन्न भएको कारोबार कुन–कुन सदस्य बीच कुन–कुन कम्पनीको के कति परिमाण तथा मूल्यमा भएको छ भन्ने कुराको निरन्तर अनुगमन तथा सुपरिवेक्षण गर्ने जानकारी दिएको छ । यसैगरी, नेप्सेले ब्रोकर कम्पनीले ग्राहकलाई कारोबार प्रणालीमा समान रुपमा पहुँच दिए, नदिएको सुपरिवेक्षण गर्ने पनि सुपरिवेक्षण गर्ने छ ।

माथि उल्लेखित सुपरिवेक्षण गर्न सदस्य व्यवसायीहरुले अंकित गरेको तथा कारोबार गरेको विवरणको चेकजाच तथा अनुसन्धान र विश्लेषण गर्ने, सदस्य व्यवसायीहरुले तोकिएको समयमा राफसाफ तथा फछ्र्योटका लागि बुझाउनु पर्ने रकम तथा कागजात पेश गरे नगरेको यकिन गर्ने लगायतका काम नेप्से गर्ने र यस्तो गरेको पाइएइमा सम्बन्धित कम्पनीलाई कारबाहीको दायरा ल्याउने काम नेप्सेले गर्ने छ ।

सदस्य व्यवसायीहरुले तोकिएको कारोबार सीमा भित्र रही कारोबार गरे नगरेको, सदस्य व्यावसायीले ग्राहकलाई समयमै रकम भुक्तानी दिए नदिएको, ग्राहकसँग रकम लेनदेन गर्दा बैंक मार्फत गरे नगरेको, कारोबार सम्पन्न भए पछि निर्धारित समय भित्रै शेयर नामसारीका लागि पठाए नपठाएको लगायतयका विवरण पनि ब्रोकर कम्पनीले नेप्सेलाई जानकारी गराउनुपर्ने व्यवस्था उक्त विनियमावलीमा गरिएको छ ।

ब्रोकर कम्पनीले ग्राहकको आदेशानुसार आदेश प्रविष्टी गरे नगरेको, ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गरे नगरेको, बोर्ड वा नेप्सेले दिएको निर्देशन वा आदेशको पालना भए नभएको लगायतका विषयमा नेप्सेले ब्रोकर कम्पनीको निगरानी गर्ने छ ।

ब्रोकर कम्पनीले एक वर्षमा दुई पटकभन्दा बढी लिखित चेतावानी पाएमा, ऐन कानुन अनुसार नेप्सेलाई दिनुपर्ने सूचना तथा जानकारी नदिएमा, सेयर मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउने प्रयास गरेमा, नेप्सेले स्वीकृति दिएबाहेक अन्य सफ्टवेयर वा टर्मिनल प्रयोग गरेमा, लगानीकर्तालाई हानी नोक्सानी हुने, कारोबार प्रणालीमा क्षति पुग्ने वा बजारमा विकृति आउने खालका कैफियत देखिएमा नेप्सेले ब्रोकरहरुको सदस्यता निलम्बन गर्ने व्यवस्था नयाँ विनियमावलीमा छ ।

यसका साथै सदस्यले सफाइका लागि पेस गरेको जवाफ सन्तोषजनक नभएमा वा ऐन, नियम, विनियम, आचारसंहिताविपरीत काम गरेको नदेखिएमा १५ दिनका लागि सदस्यता निलम्बन गर्ने विनियमावलीमा उल्लेख छ। नयाँ विनियमावलीमा अनुसूची ९(१०) थप भएको छ ।

यसमा नेप्सेबाट सदस्यता प्राप्त गरेका ब्रोकर कम्पनीले आफ्नो वा आफ्ना परिवारका सदस्यको नामबाट कुनै पनि कम्पनीको सेयर खरिद बिक्री गर्नु परेमा नेप्सेबाट पूर्वस्वीकृति लिनु पर्छ । पूर्व स्वीकृति लिएर मात्र कारोबार गर्न पाउने व्यवस्था नयाँ विनियमावलीमा थपिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्