Logo

सेयरमा अवैध लगानीको छानविन शुरु, बर्षो लेखापरीक्षण नभएका कम्पनीको समेत कारोवार

सेयरमा अवैध लगानीको छानविन शुरु, बर्षो लेखापरीक्षण नभएका कम्पनीको समेत कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेयर बजारमार्फत कालोधन भित्रन थालेको आशंका र दवाव बढेपछि नेपाल धितोपत्र बोर्डले स्थलगत निरीक्षण थालेको छ । बार्डले सम्बन्धित ब्रोकर कम्पनीको कारोवार स्थलमै गएर सुपरीवेक्षण शुरु गरेको हो ।

स्थलगत सुपरीवेक्षणको प्रारम्भिक रिपोर्ट अनुसार सेयरको अवैधानिक कारोवार समेत हुने गरेको पाइएको छ । बोर्ड सुत्रका अनुसार विगत ४÷५ वर्ष अघिदेखिको लेखापरीक्षण नभएका कम्पनीमा समेत लगानीकर्ताहरुले अन्धाधुन्द सेयरमा लगानी गरिरहेको भेटिएको छ । तर, नेपाल स्टक एक्सचेञ्जले त्यस्ता कम्पनीको सूचिकरण खारेज समेत नगरेको र कारोवार भइरहेको पाइएको छ ।

कतिपय अवस्थामा नावालकको नाममा समेत सेयर कारोवार भइरहेको छ । धितोपत्र सम्बन्धी नियमावली अनुसार हरेक कारोवार बैंक चेकमार्फत हुनुपर्नेमा ठूला ठूला कारोवार समेत नगदमा भइरहेको भेटिएको छ । यसले सर्वसाधारण लगानीकर्तालाई अप्ठ्यारोमा पार्ने भएकोले अझ बृस्तृत छानविन गर्नुपर्ने भएको बोर्ड स्रोतले जानकारी दिएको छ ।

स्थलगत अनुगमनबाट सेयरमा कालोधनलगायत अन्य अबैध तरिकाबाट कमाएको रकम लगानी गरेको भेटिएकाले सो सम्बन्धमा विस्तृत छानविन गर्न कमिटि गठन गर्नुपर्ने सम्बद्ध विज्ञहरुले बताएका छन् । साथै, पूँजी बजारलाई स्वस्थ्य, पारदर्शी र विश्वसनीय बनाउन कमिटि गठनको आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

देशमा आर्थिक गतिविधि विस्तार नभएको र सुचिकृति कम्पनीको आर्थिक बृद्धि पनि उल्लेख्य मात्रामा नभएको अवस्थामा सेयर मूल्य भने अस्वभाविक रुपमा बढेपछि बोर्डले छानविनका शुरु गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकलाई बुझाएको तथ्याङ्कमा कुलकर्जा प्रवाहको २ प्रतिशतमात्र सेयरमा लगानी भएको  विवरण बुझाएपनि राष्ट्र बैंकको फितलो अनुगमनका कारण अन्य क्षेत्रमा प्रवाहित कर्जा समेत सेयर बजारमा लगानी हुन थालेको छ । उक्त छानविनको लागि सम्बद्ध निकायहरु सम्मिलित कमिटि नै गठन गरी छानविन गर्नुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL