Logo

धितोपत्र बजारमा १ वर्षमा २० कम्पनी थपिए, बजार पुँजीकरण २ खर्ब १३ अर्बले बढ्यो

धितोपत्र बजारमा १ वर्षमा २० कम्पनी थपिए, बजार पुँजीकरण २ खर्ब १३ अर्बले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षमा धितोपत्र बजारमा २० वटा कम्पनी थपिएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थाको तथ्यांक अनुसार २०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ५४ पुगेको छ । २०७९ असार मसान्तसम्म यस्तो कम्पनीको संख्या २ सय ३४ वटामात्र रहेको थियो ।

२०८० असार मसान्तसम्म धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ७९ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समुहका रहेका छन् ।

यसैगरी, एक वर्षको अवधिमा धितोपत्र बजारको बजार पुँजी करण पनि २ अर्ब १३ अर्ब १८ करोड रुपैयाँले बढेको छ । २०८० असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । २०७९ असार मसान्तसम्म धितोपत्र बजार पुँजीजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड रहेको थियो ।

यस १ वर्षको अवधीमा नेप्से सूचकमा भने सामान्य वृद्धि भएको छ । १ वर्षको अवधीमा धितोपत्र बजार मापन परिसूचक नेप्से सूचक समग्रमा ८७.६ प्रतिशतमात्र बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचक २०८० असार मसान्तमा २०९७.१ कायम भएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १३.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.४ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असार मसान्तमा सूचीकृत ७ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ७९ अर्ब ८८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र र ४० अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी, ३५ अर्ब ५९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ७ अर्ब १४ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ४ अर्ब १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड ७९ लाख रुपैयाँ बराबरको फर्दर पब्लिक अफरिङ (एफपीओ) गरी कुल ३ खर्ब ७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १६ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर गरी कुल ६६ अर्ब ११ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL