Logo

बैंक वित्त कम्पनीले आस्वा सदस्य नविकरण नगराउँदा मारमा लगानीकर्ता, आईपीओ भर्नबाटै वञ्चित हुँदै

बैंक वित्त कम्पनीले आस्वा सदस्य नविकरण नगराउँदा मारमा लगानीकर्ता, आईपीओ भर्नबाटै वञ्चित हुँदै



काठमाडौं । गत आर्थिक बर्षको अन्तिम दिन असार ३१ गतेसम्म २४ बैंक वित्तीय संस्थाले मात्रै आस्वा सदस्यता नविकरण गराएका छन् । सि–आस्वा सदस्यता लिएका बैंक वित्त कम्पनीको संख्या ५६ भएपनि आईतबारसम्म जम्मा २४ कम्पनीले मात्रै आफ्नो आस्वा सदस्यता नविकरण गराएका हुन् ।

यसरी धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले समयमै आफ्नो आस्वा सदस्यता नविकरण नगर्दा सेयर लगानीकर्ता भने मारमा पर्ने देखिएको छ । आस्वा सदस्यता नविकरण नगरेका बैंक तथा वित्तीय संस्थाबाट प्राथमिकत सेयर निष्काशन (आईपीओ)समेत भर्न नपाईने समस्या देखापरेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आस्वा सदस्यता नवीकरण नगरेका बैंक तथा वित्तीय संस्थाबाट आइपीओ भर्न नपाइने व्यवस्था छ ।

सार्वजनिक निष्काशनमा लगानीकर्ताको दरखास्त संकलन र सो सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त हुनभन्दा १ महिना अघि नै नेपाल धितोपत्र बोर्डमा नवीकरणको लागि आवेदन दिनुपर्ने व्यवस्था छ । तर, गत आवको अन्तिम दिन आईतबारसम्म पनि ३२ कम्पनीले आफ्नो आस्वा सदस्यता नविकरण नगराएको धितोपत्र बोर्डले जानकारी दिएको छ । जसका कारण चालु आवको पहिलो दिनको बिहानैदेखि सदस्यता नवीकरण नगराएका संस्थाका मेरो सेयर प्रयोगकर्ताले ‘माइ आस्वा’ पेजमा क्लिक गर्दा ‘सीआरएन नट रजिस्टर्ड’ (सीआरएन दर्ता गरिएको छैन) भन्ने सूचना देखाएको छ ।
सदस्यता नवीकरण नगराएका संस्थालाई तत्काल नवीकरण गराउन सीडीएससीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL