Logo

१६ बर्षपछि प्रणालीमा थपियो नयाँ ब्रोकर, ७ नयाँ कम्पनीले थाले सेयर ट्रेडिङ

१६ बर्षपछि प्रणालीमा थपियो नयाँ ब्रोकर, ७ नयाँ कम्पनीले थाले सेयर ट्रेडिङ



काठमाडौं । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट अनुमति पाएका ७ नयाँ धितोपत्र दलाल (ब्रोकर) कम्पनीले कारोबार सुरु गरेका छन् । हालसम्म ५० वटा ब्रोकरले मात्र काम गर्दै आएकोमा १६ बर्ष पछि थप नयाँ ब्रोकर कम्पनीले सेयर खरिदबिक्री सुरु गरेका हुन् ।

बिहीबार (आज)बाट भोला गणेश ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ब्रोकेज ६३, सन् सेक्युरिटिज ६४, सेयरप्रो ६५, मियो सेक्युरिटिज ६६ र प्रोपर्टी बिजवार्ड ६७ नम्बरले नयाँ ब्रोकर कम्पनीको रुपमा सेयर कारोबार सुरु गरेका हुन् ।

नयाँ ब्रोकर कम्पनीले कारोबार सुरु गरेसँगै बजारलाई सुदृढिकरण गर्दै थप नयाँ उचाईमा पुर्याउन सहयोग पुग्ने धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष एवं ६३ नम्बर ब्रोकर हिमालनय ब्रोकेजका संचालक सागर ढकालले बताए । ‘अहिले धितोपत्र बोर्डले २० करोडदेखि बैंक र डेढ अर्ब पुँजी भएका कम्पनीलाई धितोपत्र बोर्डले ब्रोकर लाईसेन्स दिएको छ,’ अध्यक्ष ढकालले भने, ‘नयाँ कम्पनी थपिदा सेयर बजारको विस्तारका साथै बढी पुँजी हुँदा बजारको विकास र दायर बढाउनमा ठूलो सहयोग पुग्नेछ ।’ हालका दिनसम्म बजारमा सेयर खरिदबिक्री मात्रै हुँदै आएकोमा आगामी दिनमा बजारको विस्तार र विकासको लागि नयाँ टुल्सहरु समेत ल्याउने सकिने ढकालले बताए ।

साथै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सदृढ र विश्वसनीय बनाएर अघि बढाउन नयाँ ब्रोकरको ठूलो भुमिका रहने उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL