Logo

घोराही सिमेन्टको आइपीओ पुनः विक्री गर्न बोर्डको अनुमति, बढी आवेदन दिनेलाई अनुसन्धान गर्न प्रहरीको जिम्मा

घोराही सिमेन्टको आइपीओ पुनः विक्री गर्न बोर्डको अनुमति, बढी आवेदन दिनेलाई अनुसन्धान गर्न प्रहरीको जिम्मा



काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको रोक्का राखेको आइपीओ निष्काशन खुला गरेको छ । बोर्डले असार ४ गते कम्पनीको आइपीओ निष्काशनमा त्रुटी फेला परेको भन्दै निष्काशन नै स्थगित गरेको थियो । तर, असार मसान्त आईसकेको र वैदेशिक रोजगारीमा गएका नेपाली र उद्योग प्रभावित क्षेत्रका बासीन्दाको २९ करोड ४६ लाख ७८ हजार २ सय र सर्वसाधारणको ३ अर्ब ६१ करोड रुपैयाँ कम्पनीको खातामै रोक्का रहेकाले पुनः आइपीओ निष्काशन जारी गर्ने अनुमति दिएको हो ।

बोर्डका अनुसार कम्पनीको खातामै आइपीओ निष्काशन वापतको रकम रकमान्तर भईसकेको र हालसम्म उक्त निष्काशन नै रोक्का राख्दा सर्वसाधारको पैसा नै रोक्का हुने अवस्था आएपछि निष्काशन खुला गरिएको हो ।

यसपश्चात कम्पनीले सिआस्वामा दर्ता भएका आवेदनकर्ताको आवेदन अनुसार सेयर कित्ता थपघट गर्न, खारेज वा फिर्ता गर्न सक्ने भएको छ । यस्तै यस्तो आवेदन फिर्ता वा थपघट गर्न विक्री प्रवन्धकले तीन दिनको समय दिने बताईएको छ ।

यस्तै बोर्डले कम्पनीको जारी गरेको कुल आइपीओमध्ये आवेदनको समयभित्र सबै कित्ता विक्री नभएमा थप सात दिनको समय पाउनेसमेत निर्णय गरिदिएको छ । यसअघि घोराही सिमेन्टको आइपीओमा खातामा पर्याप्त रुपैयाँ नभई पनि लाखौं बराबरको आइपीओ खरिद गरीएको पाईएको थियो ।

उक्त आइपीओ आवेदनकर्ता भने घोराही सिमेन्टसँग सम्बन्धित नरहेको पाईएको बोर्डले जानकारी दिएको छ । यस बिषयमा थप अनुसन्धान हुने बोर्डले बताएको छ । तर, बढी आवेदन दिने लगानीकर्ताको अनुसन्धान गर्ने जिम्मा भने प्रहरीलाई दिने बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL