काठमाडौं । हाल सालै पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको सनी सेक्यूरिटिजले सेयर तालिम संचालन गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मंगलबार पोखरा स्थित इन्फोम्याक्स कलेज अफ इन्फर्मेशन टेक्नोलोजी एण्ड म्यानेजमेण्टमा आधारभूत सेयर तालिम सफलताका साथ सञ्चालन गरेको हो । उक्त कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रममा विशेष गरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्नेलगायतका तरिकाहरु सिकाईएको थियो ।
यस्तै तालिममा कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरुलगायत नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको बताईएको छ ।
साथै साइन्टिफिक विजनेश हव प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गर्न तालिम आयोजना गरिएको बताए । उनले समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरेका छन् ।
तालिम साइन्टिफिक विजनेश हवको सहकार्यमा सम्पन्न भएको थियो । सेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमका बिच दोस्रो बजारमा कारोबार गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने बताईएको छ । यस्तै कुरालाई मनन् गरी सनी सेक्यूरिटिजको पहलमा सेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गर्ने साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ सेन्टरले जानकारी दिएको छ ।