काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को कर्पाेरेट पेमार्फत हालसम्मकै बढी भुक्तानी भएको छ । कम्पनीको उक्त प्रोडक्ट माघ २०७७ मा संचालनमा आएयता गएको जेठ महिनामा मात्रै ५० अर्ब अर्थात हालसम्मकै बढी कारोबार भएको हो ।
गत आर्थिक वर्ष कुल १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पाेरेट पे मा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४ खर्ब २१ अर्ब रुपैयाँ बढिको भुक्तानी कारोबार पछर््यौट भइसकेको छ ।
बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पाेरेट पेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुइ गुणाले बृद्धी भएको एनसीएचएलले जानकारी दिएको छ ।
हाल शैक्षिक संस्थाहरु, कन्स्ट्रक्शन कम्पनीहरु, ट्राभल व्यवसायीहरु, रिटेल व्यवसायीहरु लगायतका विभिन्न संस्थागत ग्राहकहरुले कर्पाेरेट पे प्रयोग गर्ने गरेका छन् । ४७ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ७,७०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् ।
एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था रहेको यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत नेपाल आयल निगम, भन्सार विभाग, बीमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, फण्ड म्यानेजमेन्ट लगायतको थप सुबिधा रहेको छ ।
प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म गर्न सकिन्छ ।