Logo

नयाँ ब्रोकर लाइसेन्स वितरण निष्पक्ष र पारदर्शी तरिकाले गरिएको सेबोनको दाबी

नयाँ ब्रोकर लाइसेन्स वितरण निष्पक्ष र पारदर्शी तरिकाले गरिएको सेबोनको दाबी



काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स वितरण पारदर्शी तरिकाले भएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै यससम्बन्धी नियमावली तथा अन्य कानुनबमोजिम नै ब्रोकर लाइसेन्स वितरण गरिएको बताएको हो ।

केहिदिन अघि स्टक ब्रोकर एशोसिएसनले नयाँ ब्रोकरको लाइसेन्स वितरण गर्नेबेलामा आर्थिक चलखेल भएको र अपारदर्शी तरिकाले लाइसेन्स वितरण गरिएको बताएको थियो । त्यसैलाई आधार मानी बोर्डले पनि एशोसिएसनको आरोपलाई कपोकल्पित र आधारहिन भनेको छ ।

‘कानूनी रुपमा नै समय सीमा तोकी, जवाफदेही पद्धतिको विकास गरी, सार्वजनिक रुपमा आह्वान गर्दै पारदर्शी प्रकृयाबाट मापदण्ड पुरा गरेका सबैलाई समान अवसर प्रदान गरी तोकिएको समयमै पूर्वाधार तयार गर्न सूचित गरिएका थियो,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही संस्थाहरुले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधै सीमित व्यवसायीको घेरा भित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डको यस कार्यको विरोध गर्दै बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरु लगाइएकोमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ ।’

बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यवसायीक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रीत स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा वाधा पुर्याउन भएको प्रयास खेदजन्य रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL